दोश्रो नेपालभाषा मंका: खल: राष्ट्रिय चेसमा रुपेशको अग्रता
कपन अनलाइन
काठमाण्डौ,कार्तिक २०।
नेपाल सम्बत् ११४४ नयाँ वर्षको उपलक्ष्यमा न्हुदँ समारोह समिति नेपालभाषा मंका:खल:, यलको आयोजनामा आज देखि मंका: दबूमा शुरु भएको छ। कार्यक्रमको उदघाटन गर्दै नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले राष्ट्रको चौथौं चर्चित चेस खेललाई राष्ट्रिय खेलकुद परिषद् मार्फत विश्व खेल जगतमा मौका प्रदान गरिनु पर्ने कुरा जोड दिनु भएको थियो। मंका: खल:, यलका अध्यक्ष हेराकाजि महर्जनले राष्ट्रिय प्रतियोगिता हरेक वर्ष हुने क्यालेन्डरमा समावेश गरिदिन अनुरोध गरेका छन्। दोश्रो नेपालभाषा मंका:खल राष्ट्रिय र्यापिड रेटिङ प्रतियोगितामा देश भर २५ जिल्लाका शिर्षस्थ खेलाडीले सहभागीता जनाएका छन्।
आज सम्पन्न चार चरणको खेलमा रौटहत जिल्लाका नेपाल च्याम्पियन रुपेश जैसवालले आफ्नो खेल अध्ययन र अनुभवको कौशल प्रदर्शन गरि शैलेश श्रेष्ठ, ललितपुरका अशोक मोहन श्रेष्ठ, काठमाडौंका जनार्दन श्रेष्ठ र ललितपुरकै सुरज महर्जन माथि जित हात पार्दै ४ अंक जोड्न सफल भएका छन्। रुपेश संगै ४ अंक प्राप्त गर्ने खेलाडीहरुमा दोलखाका आशिष फूँयाल,विकेश राजकर्णीकार,काठमाडौंका उदियमान खेलाडी पुरुषोत्तम सिलवाल र धिरेन राई संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्।
भोलि सेतो गोटीवाट आशिषले पुरुषोत्तम सिलवालसंग, विजेश राजकर्णीकारले राजन पुरी र कालोगोटीवाट रुपेश जैसवालले धिरेन राई संग एक आपसमा प्रतिस्पर्धा गर्ने छन्। खुल्ला तर्फ राजन पूरीले ३.५ अंक जोडेर एकल दोस्रो स्थानमा रहेका छन् भने धिरेन राइसंग माथ खाएका सजिन महर्जन , सानुराज बज्राचार्य, सुरोज महर्जन, मनोज कुमार श्रेष्ठ, सुदिप तामाङ, विजय महर्जन, राजु महर्जन, शैलेन्द्र कुमार न्यौपाने, कमल श्रेष्ठ, जनार्दन श्रेष्ठ लगायतले ३ अंक प्राप्त गर्दै संयुक्त तेस्रो स्थानमा रहन सफल भएकम छन्।
त्यसै गरि महिला तर्फ नुवाकोटकि वर्तमान महिला नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी र श्रीलंकन खेलाडी डब्लुआइएम सचिनि रनासिंघे द्वयले ३/३ अंक प्राप्त गरि संयुक्त प्रथम स्थानमा रहन सफल भएका छन्।
शान्ति धिमाल २.५ अंक लिएर दोस्रो एवं पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी २ अंकका साथ तेस्रो स्थानमा रहेका छन्। भोलि कालोगोटिवाट सुजनाले जनार्दन श्रेष्ठ संग र सेतोगोटिवाट सचिनिले राजु महर्जनसंग प्रतिस्पर्धा गर्ने छिन्। भोलि पाँचौ चरणको खेल मंका: खल: भवनमा विहान १०:०० बजे शुरु हुने कुरा कार्यक्रमका संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्।