बुढानीलकण्ठ नगरपालिकाका नक्शा पासमा अनलाईन प्रणाली लागु हुने
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ११।
बुढानीलकण्ठ नगरपालिकामा नक्सा पास तथा भवन निर्माण व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन अनलाईन प्रणाली eBPS (Eelectronic Building Permit System) लागु गर्न लागेको छ ।
सोही प्रणाली सम्बन्धी आज नगरपालिकाको आयोजना र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को प्राविधिक सहयोगमा नगरपालिकामा रहेका नगरपालिकाका प्राविधिक शाखा, पूर्वाधार विकास शाखा, कन्सल्टेन्सीहरु तथा सरोकारवाला शाखाका कर्मचारीलाई दुई दिने प्रशिक्षण दिइएको छ ।
तालिमको आज पार्क भिलेज रिसोर्टमा नगरप्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारिले प्रविधिमैत्री नगर स्थापना गर्ने अभियानको यो प्रारम्भिक सुरुवात भएको बताएका छन ।
“समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रियालाई पारदर्शी गर्न नगरपालिकाले eBPS प्रणाली लागु गर्न लागेको हो”, उनले जोडे , ” यसको प्रयोगबाट कोही पनि सेवाग्राही नक्साको फाईल बोकेर कार्यालयमा आईरहनु नपर्ने, भ्रष्टाचारमा कमि हुने र घरमै बसेर अनलाईनबाटै रकम भुक्तानी गर्न सकिने भएकोले यो प्रभावकारी हुनेछ भन्ने नगरपालिकाले विश्वास गरेको छ” ।
ईलेक्ट्रोनिक बिल्डिङ प्रणाली eBPS भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित गर्न बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको अनलाईन प्रणाली हो । यस प्रणाली लाई बूढानीलकण्ठ नगरपालिका को आधिकारीक वेवसाईट www.budhanilkanthamun.gov.np मा गई इ-गभर्नेन्स Section मा वा सफ्टवेयरहरू भन्ने Menu मा गई घर नक्सा पास प्रणालीमा Click गरी यस System लाई खोल्न सकिने आई.टि. ईन्जिनियर शान्तराज पौडेलले जानकारी दिएका छन ।