भोलि सामुदायिक विद्यालय बन्द नगर्न बालेनको निर्देशन, शिक्षक अनुपस्थित भए जागिरबाट हटाउने

भोलि सामुदायिक  विद्यालय बन्द नगर्न बालेनको निर्देशन, शिक्षक अनुपस्थित भए जागिरबाट हटाउने

कपन अनलाइन

काठमाण्डौ ,असार २ ।

काठमाडौं महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

मेयर बालेनले विद्यालय शान्ति क्षेत्र रहेको भन्दै विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि काम नगर्न सबै सरोकारवालाहरूसँग आग्रह गरेका छन् । उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक, कर्मचारीलाई पदबाट हटाइनेसमेत चेतावनी दिएका छन् ।

पठनपाठनमा अवरोध गरे विद्यालय व्यवस्थापन समिति विघटन गरिने र पठनपाठनमा कसैले अवरोध गरे फौजदारी मुद्दा चलाउनेसमेत चेतावनी दिएका छन् ।

प्रमुख बालेन्द्र शाहले सामाजिक संजालमा राखेको सामाग्री :

मिति २०८०।३।३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका लागि अनुरोध छ ।
साथै काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ। काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरू निम्न अनुसार कारवाही हुनेछ। :
१) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ।
२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ।
३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।
४) काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।