ज्ञान निकेतन कप बास्केटबलमा बुद्ध, युनिक र इनोभेटिभलाई उपाधि

कपन अनलाइन
काठमाडौं, फागुन १०  ।
बुद्ध एकेडेमी, युनिक र इनोभेटिभले २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । बुद्ध सिनियर ब्वाइज, युनिक जुनियर ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा च्याम्पियन बनेका  हुन् ।
सिनियर ब्वाइज फाइनलमा बुद्धले आयोजक ज्ञान निकेतनलाई ४७–४२ ले पराजित गर्यो  । बुद्धको जितमा नरेन लामाले २७ अंक योगदान गरे ।
जुनियर ब्वाइज फाइनलमा सजित रिमालको १६ अंक सहयोगमा युनिकले ग्रिनफिल्डलाई २७–१९ ले हरायो । सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले ज्ञान निकेतनलाई २३–२२ ले पाखा लगायो । इनोभेटिभकी पूजा थापाले १७ स्कोर गरिन् । नरेन, सजित र पूजा ‘मोस्ट भेलुएबल प्लेयर’ बने ।
विजेतालाई ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, ज्ञान निकेतनका स्कुल संयोजक सञ्जयजित कुँवर, आर्थिक निर्देशक मिरा थापा र एकेडेमीक इन्चार्ज दिपेन्द्र बसौलाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तपाइँको प्रतिक्रिया ।