शंखरापुर नगरपालिकाको आठौं नगरसभा सम्पन्न
कपन अनलाइन
काठमाडौँ, माघ ३ । शंखरापुर नगरपालिकाको आठौं नगरसभा अधिवेशन सम्पन्न भएको छ । बिहिबार इन्द्रायणीमा भएको नगरसभाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं काठमाडौं क्षेत्र नम्बर २ कि सांसद शोविता गौतम रहेकी थिइन भने बिशेष अतिथिको रुपमा काठमाडौं क्षेत्र नम्बर २ का समानुपातिक तर्फका सांसदहरु प्रतिमा गौतम र मन्दिरा राना, नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, पूर्व नगरप्रमुख सुवर्ण श्रेष्ठ, महिला, जेष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख निर्जला चुडाल अधिकारी, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय गान संगै शरू भएको उक्त आठौं नगरसभा अधिवेशनको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं काठमाडौं क्षेत्र नम्बर २ कि सांसद शोविता गौतमले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । प्रमुख प्रशासकीय अधिकृत खनालले नगरपालिकाको समृद्धिका लागि एकल प्रयासले संभव नहुने भन्दै संयुक्त प्रयासमा अघि बढ्न जोड दिएका थिए । उनले निर्वाचित जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधि, पूर्व जनप्रतिनिधिहरु तथा सरोकारवाला पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गरेका हुन ।नगरपालिकाले शिक्षा सम्बन्धी बिधेयक, नगरप्रहरी सम्बन्धी बिधेयक र कृषि तथा पशुपंक्षी सम्बन्धी बिधेयकलाई अघि बढाएर ऐनको रुपमा अभ्यास गर्न लागेको समेत जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद शोविता गौतम, बिशेष अथितिहरु सांसद प्रतिमा गौतम, मन्दिरा राना, कार्यक्रमका अध्यक्ष नग प्रमुख रमेश नापित, अथितिहरु उपप्रमुख समिता श्रेष्ठ, नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठ, पूर्व नगरप्रमुख सुवर्ण श्रेष्ठ, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शंखरापुर नगरपालिकाको विकास र समृद्धिका बारेमा चाल्नुपर्ने विभिन्न कदम तथा उदेश्य बारेका प्रकाश पारेका थिए ।नगरसभाले शिक्षा सम्बन्धी बियेयक २०७९, नगरप्रहरी सम्बन्धी बिधेयक २०७९ र कृषि तथा पशुपंक्षी सम्बन्धी विधेयक सर्वसहमतिले पारित गरेको छ ।नगरसभामा छलफल भएर पारित भएसँगै ति बिधेयकहरु ऐनको रुपमा कार्यान्वयनमा आएको छ ।
शंखरापुर नगरपालिकाको जहरसिंह पौवा बोझिनीमा भइरहेको आन्दोलन शान्तिपूर्ण रुपमा समाधानका लागि पहल गर्ने बारेको सार्वजनिक महत्वको प्रस्ताव शंखरापुर नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको छ । आठौं नगरसभामा नगरप्रवक्ता एवं वडा नम्बर ८ का प्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रस्तुत गरेको सो प्रस्ताव पारित भएको हो ।शंखरापुरका नगरपलिका वडा नम्बर ३ मा प्रस्तावित लप्सेफेदी–चाँगुनारायण सव स्टेशन निर्माण आयोजनाको सम्बन्धमा स्थानीय बासिन्दालाई प्रहरी दमन गर्ने राज्यको नीति प्रति नगरपालिकाको तर्फबाट गंभीर ध्यानाकर्षण गरिएको छ । उक्त आयोजनाको सम्बन्धमा स्थानीय वासिन्दाबाट भएका मागहरुलाई संवादको माध्यमबाट संवोधन गरी समस्याको शान्तिपूर्ण यथाशीघ्र समाधान गर्न सम्बन्धित निकायहरुलाई जिम्मेदवार भइदिन अनुरोध गर्न सम्पूर्ण नगर कार्यपालिका सदस्यहरु एकमत भएका छन् ।आन्दोलनरत पक्षसँग बार्ताका लागि नगरप्रमुख श्रेष्ठले विभिन्न पक्ष र निकायसँग पहल गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ का नवनिर्वाचित ३ सांसदलाई सम्मान समेत गरिएको थियो । आठौँ नगरसभा कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीकी सांसद शोविता गौतम, मन्दिरा राना र नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमलाई सम्मान गरिएको हो ।शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले संयुक्त रुपमा टिका, खादा र सम्मानपत्रबाट सम्मान गरेका हुन् ।