शंखरापुर नगरपालिकामा खानेपानी व्यवस्थापनको लागि छलफल
कपन अनलाइन
काठमाडौँ पौष ४ । शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणा बीच शंखरापुरमा खानेपानी व्यवस्थापनका बारेमा छलफल भएको छ ।शुक्रबार शंखरापुर नगरपालिका प्रमुखको कार्यकक्षमा भएको सो भेटघाटमा शखरापुरका सबै क्षेत्रमा बृहत र दिगो रुपमा कसरी खानेपानीको व्यवस्थापन गर्ने र त्यसका लागि अध्ययन गर्ने भन्ने बारेमा छलफल भएको नगरपालिकाले जनाएको छ ।
सुरुमा सो कामको अध्ययनको लागि नगरपालिकाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डलाई अनुरोध गर्ने र त्यसपछि बोर्डले काम सुरु गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा भएको छलफलपछि राणाले साँखुमा वितरण भइरहेको खानेपानीको मुहान स्थलको स्थलगत अवलोकन समेत गरेका थिए । उनीहरुलेफेदीस्थीत साँखु खानेपानी मुहान क्षेत्र अवलोकन भ्रमण गर्नुको साथै शुद्ध खानेपानी बितरण, शंचालन, मुहान क्षेत्रको थप ब्यवस्थापन गर्ने विषयका साथै शंखरापुर नगरपालिकाको ९ वटै वडामा खानेपानी समस्या समाधान गर्ने विषयमा विविध छलफल गरेको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिनेशलाल श्रेष्ठले जानकारी दिएका छन् ।साँखु खानेपानी विकासका लागि ट्रिटमेन्ट प्लान्टलाई अपग्रेड गर्ने काम गर्ने योजना रहेको कार्यकारी निर्देशक राणाले बताए । यो बर्ष डिजाइनको काम हुने र अर्को बर्षदेखि काम सुरु हुने उनले बताए ।
पानी स्वच्छ बनाउँनका लागि पानीमा हुने किटाणु मार्ने युनिट राख्ने सो काम यही आर्थिक बर्षमा सम्पन्न हुने लक्ष्य राखिएको उनले बताए ।
यस्तै दोस्रो फेजमा खानेपानी पाइपमा मिटरिङ गर्ने योजना राखिएको छ । पानीको सदुपयोग गर्नका लागि खानेपानीको मुहान स्थलबाट वितरण हुने पाइपलाइन तथा घरका धारामा मिटर राख्ने योजना रहेको र यो काम २ फेजमा पूरा हुने कार्यकारी निर्देशक राणाले जानकारी दिए ।
यस्तै यसैबर्ष खानेपानी भवन निर्माणको काम सम्पन्न गर्ने योजना रहेको उनले बताए ।यसका साथै शंखरापुर वडा नंबर ६ र ७ मा रहेका ढुङ्गेधारा र पोखरी संरक्षणका लागि आपसी सहकार्यमा काम गर्नेबारे छलफल भएको उनले बताए । कार्यकारी निर्देशक संजीव बिक्रम राणाका साथै महाङ्काल चौर शाखा प्रमुख नारायण कर्ण, महाङ्काल चौर शाखाका ईन्जिनियर हेम बुढाथोकी, प्रदेश सभा सदस्य राजु बिष्ट, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, कार्यकारी अधिकृत बासुदेब खनाल, वडा नं ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नं ३ का अध्यक्ष सुर्यबहादुर तामाङको समेत छलफलमा सहभागिता रहेको थियो ।
फोटो सौजन्य : नयापोष्ट