काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको चौथो पटक हार ,को को थिए चुनावी कमान्डर ?

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको चौथो पटक हार ,को को थिए चुनावी कमान्डर ?

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २१।

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेले चौथो पटक हार बेहोरेको छ। २०६४ देखि २०७९ सम्म भएका चार वटा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी बन्दै आएका छन।

२०४८ देखि २०५६ सम्मका प्रत्येक निर्वाचनमा विजयी बन्दै आएको नेकपा एमालेले २०६४ पछिका हरेक निर्वाचनमा पराजय भोग्दै आएको छ।काठमाण्डौ महानगरपालिकाका चार र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा २०६४ देखि २०७९ सम्म नेकपा एमालेको चुनावी कमाण्ड सम्हालेका नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. संविधान सभा निर्वाचन २०६४ : उद्दव प्रसाद खरेल

२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को चुनावी कमान्डर बागमती प्रदेस कमिटी सदस्य उद्दव प्रसाद खरेल रहेका थिए।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का तत्कालिन सचिव खरेल निर्वाचन परिचालन कमिटीको संयोजक रहेको सो निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेकी वर्तमान रास्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसकी सुप्रभा घिमिरे संग पराजित भएकी थिइन्।

२.संविधान सभा निर्वाचन २०७० : कुसुम कुमार कार्की 

२०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनमा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को चुनावी कमान्डर हाल नेकपा एसको केन्द्रीय सदस्य रहेका कुसुमकुमार कार्की रहेका थिए।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का तत्कालिन अध्यक्ष कार्की निर्वाचन परिचालन कमिटीको संयोजक रहेको सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्मल कुइकेल नेपाली कांग्रेसका गगन कुमार थापासंग भारी मत अन्तरले पराजित बनेका थिए।

३.आमनिर्वाचन २०७४ : धर्मदत्त देवकोटा 

२०७४ सालमा भएको आम निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को चुनावी कमान्डर नेकपा एमालेका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा रहेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ मा तत्कालिन बाम गठबन्धनका तर्फबाट निर्वाचन परिचालन कमिटीको संयोजक देवकोटा रहेको सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार डा.राजन भट्टराई नेपाली कांग्रेसका गगन कुमार थापासंग पराजित बनेका थिए।

४.आम निर्वाचन २०७९ : रमेस बडाल 

२०७९ सालमा भएको आम निर्वाचनमा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को चुनावी कमान्डर नेकपा एमालेका पोलिटब्युरो सदस्य रमेस बडाल रहेका थिए।

नेपाल सरकारका पुर्व महान्याधिवक्ता समेत रहेका बडाल निर्वाचन परिचालन कमिटीको संयोजक रहेको सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा संग पराजित भएका थिए।

लगातार चार पटक निर्वाचनमा पराजित भएसंगै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा हारका कारण र आगामी योजनाका वारेमा व्यापक बहस सुरु भएको छ।

२०७९ सालको निर्वाचनमा ७ हजार भन्दा बढी मतान्तरले पराजित भएको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा पछिल्लो समय असन्तुस्टी र आरोप प्रत्यारोपको शृंखला भुसको आगो झैँ फैलिएको  क्षेत्रीय कमिटीका एक सदस्यले बताएका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा डा.राजन भट्टराई पूर्ववत रुपमा सक्रिय बन्नुपर्छ र अवका दिनमा नयाँ विकल्प खोज्नुपर्छ भन्ने बहस देखिने गरी नेकपा एमाले क्षेत्रको राजनीतिमा सुरु भएको बताउदै  ति सदस्यले यस क्षेत्रमा नेकपा एमालेमा प्रवेस गरेका विभिन्न पुर्व माओवादी समुह पनि शक्तिशाली बन्दै गएको विश्लेषण गरेका छन।

एकै विधि,नीति,शैली,नेतृत्व र अभ्यासका कारण चौथो पटक समेत हारको सामना गर्नुपरेको तथ्यलाई विगतमा झैँ कामचलाउ समिक्षा नगरी गम्भीर छलफलको आवस्यकता रहेको भन्दै ति सदस्यले क्षेत्र नं ४ मा संगठन र पार्टी सत्तामा युवा नेतृत्वको  माग जबर्जस्त रुपमा उठ्न सक्ने संकेत गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा २०६४ को निर्वाचन हुँदा उद्दव खरेल,२०७० मा कुसुम कुमार कार्की र २०७४ सालमा विदुर विक्रम खड्का क्षेत्रीय कमिटीको क्रमस सचिव ,अध्यक्ष र संयोजक रहेका थिए।  २०७४ सालको निर्वाचनमा क्षेत्रीय कमिटी समन्वय कमिटीमा परिणत भएको थियो।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।