पाँच ट्रेड युनियन महासंघद्धारा चुनाव बहिस्कार गर्ने घोषणा

पाँच ट्रेड युनियन महासंघद्धारा चुनाव बहिस्कार गर्ने घोषणा
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।

चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।
आज (सोमबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविकाविरुद्ध हुने जनाएको छ ।
क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले संयुक्त रुपमा चुनाव बहिस्कार घोषणा गरेका हुन् ।
निर्वाचनको नाममा साम्राज्यवाद–विस्तारवादका दलाल एवं थैलिपतिहरुद्धारा गरिएको फगत कार्टेलिङ प्रहसन मात्र भएको युनियनहरुको ठहर छ ।
ट्रेड युनियन संघर्ष समिति श्रमिकवर्गका मुक्ति, न्याय र समानताका निम्ति अधिक कठोर संघर्षको नेतृत्व गर्न पनि दृढ रहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिनाले देश अत्यन्तै संकटग्रस्त अवस्थामा गुज्रिरहेको बताएका छन् । संकटका कारण मुलुकमा रोजगारी श्रृजना गर्न र व्यापार व्यवसायहरु बढाउन नसकेको बताए ।
उनले भने,‘व्यापार व्यवसायहरु टाट पल्टेका छन्, बैंक वित्तिय संस्थाहरु चल्नै नसक्ने अवस्थामा रहेका छन् र उनीहरुको दैनिक कारोबार बन्द भइसकेका छन् तैपनि शासक वर्गहरुले कथित निर्वाचनको नाटक देखाइरहेका छन् ।’
उनले अहिलेको निर्वाचन प्रणाली पैसा खर्च नगरी कुनै पनि प्रतिफल लिन नसकिने अवस्थामा पुगेको बताए । राजनीतिमा अस्वस्थ्य ढंगको प्रतिस्पर्धा भइरहेको उनको भनाइ थियो ।
यसैगरी,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद थापाले मंसिर ४ गते हुने निर्वाचन नेपाली जनताको लागि उपयुक्त नभएको टिप्पणी गरेका छन् । चुनाव जितेपछि गाउँ नर्फकने नेताहरु अहिले झोली बोकेर गाउँ–गाउँ पुगिरहेको उनले सुनाए ।
अहिलेको व्यवस्थालाई दलालको संज्ञा दिँदै उनले सोही राजनीतिक व्यवस्था विगत ३० वर्षदेखि देशमा कायम भइरहेको उनको भनाइ थियो ।
विभिन्न दलका नेताहरुले मजदुरहरुलाई झुटा नारा दिएर झुक्काइरहेको भन्दै उनले दुखेसो पोखे । एमसीसी, एसपीपी समर्थन गर्नेहरु नक्कली प्रतिवद्धतापत्र लिएर जनतामाझ गइरहेको भन्दै उनले जनताले चुनाव वहिस्कार गर्नुपर्ने धारणा राखे । उनले भने,‘चुनावमा भोट दिनु भनेको फेरी ५ वर्ष देशलाई भुमरीमा पार्नु हो ।’
मजदुरले न्याय नपाएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत उनले स्पट पारे । मजदुर वर्गको हितमा काम नगर्ने नेताहरुलाई गाउँबाट लखेट्नुपर्ने बताए ।
देशभरका ट्रेड युनियनहरु मंसिर ४ गते हुने निर्वाचनको खारेजीमा जुट्नुपर्ने र मजदुरहरु घरमा हात बाँधेर बस्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले पार्टीहरुकै कारण मजदुरहरुलाई विभाजन हुनु परेको दाबी गरेका छन् । मजदुरहरुको समस्या समाधान गर्ने वाचा गरेका नेतृत्वले आजसम्म आफूहरुको पक्षमा केही काम नगरेको बताए । उनले भने,‘मजदुर वर्गकै भोटबाट मन्त्री भएका हरुले पनि हामीहरुकै समस्या समाधान गर्न सकेनन् ।’
आफूहरुले चुनेर पठाएका नेतृत्वहरुले मजदुरका समस्या हल नगरेको, मजदुरमाथि भएका अन्याचारविरुद्ध केही नबोलेको उनले आरोप लगाए ।
उनले भने,‘सम्पुर्ण मजदुर एकताबद्ध हुनु महत्वपुर्ण आवश्यकता छ । गाउँमा भोट माग्न आउने नेताहरुलाई गाउँबाट लखेटेर मजदुर, वृद्धिजिवि,किसान सहितको नयाँ सरकार बनाउनुपर्छ ।’
मंसिरमा हुने निर्वाचनलाई नौटकींको संज्ञा दिँदै उनले भने,‘आगामी निर्वाचन, न त नीतिमा छ, न त सिद्धान्तमा छ, न त वैचारिक रुपमा छ, जसरी हुन्छ चुनाव जित्ने र विदेशीको इशारामा हिड्ने र देश बेच्न मात्रै उद्देश्य छ ।’ चुनाव बहिस्कार गर्नुको विकल्प नरहेको उनले बताए ।
टिका घिमिरेले आगामी चुनाव जनताको हितमा नरहेको भन्दै शसक्त बहिस्कार गर्नुपर्ने बताए ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले मंसिरमा हुने निर्वाचनलाई सात पार्टीले बहिस्कार गरेको दाबी गरेका छन् । अहिले प्रजातन्त्र बदनाम र मुठ्ठी भरका पुँजीपति वर्गको राज्यसत्तामा पकड जमाउने माध्यम भएको उनले टिप्पणी गरे । प्रजातन्त्रमा लामो समयदेखि मजदुरवर्गलाई उपेक्षा गरिदै आएको भन्दै उनले आगामी निर्वाचनमा मजदुर वर्गको प्रतिनिधित्व नभएको दाबी गरे।
मजदुरको प्रतिनिधित्व नभएपछि मजदुर वर्गले निर्वाचनलाई स्वीकार गर्न नसक्ने उनले थप स्पष्ट पारे । ६० लाख भन्दा बढी बिदेश भएका मजदुरलाई मतदान गर्ने व्यवस्था नभएको भन्दै निर्वाचन वहिस्कार गर्नुको विकल्प नरहेको बताए ।
कार्यक्रमको सञ्चालन वसन्त बोगटीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।