भाद्र १९गते कागेश्वरीमा लाग्ने कागेअष्टमी मेला व्यवस्थित गर्न तयारी बैठक
कपन अनलाइन
काठमाडौं, भाद्र ८ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रहेको कागेश्वरी महादेव मन्दिरमा प्रत्येक बर्षझै यस वर्ष पनि भाद्र शुक्ल अष्ट्मीको दिनमा लाग्ने मेला व्यवस्थापनको लागि तयारी बैठक सम्पन्न भएको छ।
मंगलबार कागेश्वरी मन्दिर ब्यबस्थापन तथा पर्यटन बिकास समिति सहित गुठीका प्रतिनिधी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ समितिका पदाधिकारी सहितको संयुक्त बैठक बसी मेला व्यवस्थापनका लागि निम्न निर्णय भएको वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले जानकारी गराए ।
भाद्र १९ गते उक्त क्षेत्रमा लाग्ने मेलालाइ व्यवस्थापन गर्न भाद्र १७ गते बिहान सेना प्रहारी संघ संस्था समुदायको उपस्थितिमा बिहान सरसफाई गरिने भएको छ ।
भाद्र १८ गते गजल गायन साहित्य सम्मेलन कबिता बचन कार्यक्रम सहित मेला तयारीको बारेमा पत्रकार सम्मेलन गरिने भएको छ भने १९ गते मेलाको दिन धार्मिक भजन किर्तन, प्रवचन राष्ट्रिय तथा स्थानीय कलाकार सम्मिलित लोकदोहोरी सहित मनोरन्जनात्मक कार्यक्रमका साथै झाँकी र मौलिक सास्कृतिक र स्थानीय उत्पादनको प्रदर्शनी गरिनुको साथै स्वास्थ्य शिविर र रक्तदान लगायतका कार्यक्रम गरिने हुँदा सबैलाई आ-आफ्नो स्थानबाट आवश्यक र यथोचित सहयोग गर्न समेत कागेश्वरी मन्दिर ब्यबस्थापन तथा पर्यटन बिकास मुल समितीले अनुरोध गर्ने निर्णय गरिएको छ ।
भाद्र शुक्ल अष्ट्मीको दिन कागेश्वरी महादेव मन्दिर परिसरमा रहेको कुण्डमा स्नान गरि दर्शन गरेमा मनोकामना हुने जन विश्वास रहेको छ साथै यमराजको दुत कागले मानिसलाई छुदा अशुभ हुने र त्यस बाट मुक्त हुन कागेश्वोरी मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्नु पर्ने धार्मिक मान्यता रहेको छ ।
सोहि दिनलाई कागे अष्टमी पनि भनिन्छ । कागेअष्टमी मेलाको दिन गोसाइँकुण्डमा मेला भरेका दर्शनार्थीले त्यहाँ बाट ल्याएको जल कागेश्वोरी महादेबलाई चढाएपछी तीर्थ यात्राको मनोकामना पूरा हुने विश्वास समेत रहिआएको छ ।
नयाँ शिष्यलाई कागे अष्टमीका दिन कागेश्वर महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेको लामा गुरुको धारणा छ । कागे अष्टमीका दिन आफ्नो खेतबारीमा फलेको मकै कागेश्वरीमा महादेवलाई चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने जन विश्वाससमेत रहेको छ ।
अघिल्लो वर्ष कोरोनाको कारण मेला संचालन हुन सकेको थिएन ।उपत्यकाको मनमोहक दृश्यावली अवलोकन गर्न, स्वच्छ सुन्दर वातावरणको अनुभव लिन तथा आकर्षक ग्रामीण भेग नियाल्नको लागि पनि सो उपयुक्त स्थल रहेको र बार्है महिना आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण निर्माणको लागि परेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेलले बताए ।