काभ्रेस्थलीमा मृत फेला परेका चार जनाको पहिचान खुल्यो
कपन अनलाइन
काठमाडौं, साउन १६। तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत फेला परेका चार जनाको पहिचान खुलेको छ । काठमाडौं प्रहरीका अनुसार मृत फेला परेका उनीहरुको हत्या भएको हो ।हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ ।
गोरखा भीमसेन गाउँपालिका–६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।