प्रथम खुला डुंगा प्रतियोगितामा चन्द्र र जीवन पहिलो
कपन अनलाइन
काठमाडौं, असार ७ ।
नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो भएका छन् । उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी (१ मिनेट ३२ सेकेन्ड) दोश्रो तथा नेपाल माझी उत्थान संघ, सिन्धुलीका दीपक माझी र साजन माझी (१ मिनेट ३३ सेकेन्ड) तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
रामेछापको मन्थलीस्थित सेलेघाटमा भएको प्रतियोगिताको डबल्समा नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी, जीवन माझी, जितेन्द्र माझी र भेषबहादुर माझी पहिलो बने । उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट ५३ सेकेन्डमा पार गरे । नेपाल माझी उत्थान संघ, रामेछापका रामबाबु माझी, कुश्मान माझी, काले माझी र भरत माझी १ मिनेट ५९ सेकेन्डमा दोश्रो भए । तेश्रो स्थानका नेपाल माझी उत्थान संघ, रामेछापका सन्तोष माझी, बलबहादुर माझी, शान्ति माझी र कुमार माझीले २ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरे । पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाए । डुंगा प्रतियोगिताको सिंगल्समा २ जना र डबल्समा ४ जनाले खेल्न पाउने प्रावधान राखिएको थियो ।
मन्थली नगरपालिकाको सहयोग तथा नेपाल माझी उत्थान संघ, रामेछापको समन्वयमा भएको एकदिने प्रतियोगितामा १ सय खेलाडी सहभागी थिए ।
प्रतियोगिताको राखेप सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै पराम्परागत खेलको जर्गेना गर्ने उद्देश्यले राखेपले प्रतियोगिता आयोजना गरेको बताए । विजेतालाई मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।