एसियाली र नवौं राष्ट्रिय खेलकुद बारे छलफल
कपन अनलाइन
काठमाडौं, बैशाख ३ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाब्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसंग शुक्रबार छलफल गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिदै पूर्व तयारीको समय कम भएपनि बाँकी रहेको समयलाई सक्दो सदुपयो गरी प्रशिक्षणलाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीका सचिव समेत रहेका तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक हिमालराज दाहालका अनुसार छलफलमा सहभागी अधिकांश संघका प्रतिनिधिले एसियाली खेलकुदका लागि खेलाडी कोटा कम भएको जानकारी गराएका थिए । दाहालले जनाए अनुसार एसियाली खेलकुदका लागि बैशाख तेश्रो सातासम्म खेलाडीको प्रारम्भिक छनोट गरिसक्ने सहमति पनि भएको छ ।
साथै गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको खेलस्थल, खेलाडी कोटालगायतका विषयमा पनि बैठकमा छलफल भएको थियो ।