गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामजी कुमार श्रेष्ठको दावी
कपन अनलाइन
काठमाडौँ,चैत्र २८ । स्थानीय चुनाव नजिकिदै गर्दा गोकर्णेश्वर नगरपालिकामा उम्मेदवारको चर्चा शुरु भएको छ । निर्वाचनको मिति घोषणा संगै दलका कार्यकर्ता चुनाब केन्द्रित हुन थालेका छन ।
हुन त सबै दलले हालै मात्र महाधिवेशन सम्पन्न गरेका छन् जसले पार्टीको आन्तरिक रुपमा कार्यकर्तालाइ क्रियाशील बनाउन सहयोग पुर्याएको छ , त्यस कारण पनि स्थानीय निर्वाचन मा दलको प्रचार प्रसार राम्रै हुने देखिन्छ ।
खासगरी सत्तारुढ दल नेपाली काँग्रेसबाट गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा को उम्मेदवार बन्छ भन्ने विषय चासोका साथ हेरिएको छ । २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि रामजी कुमार श्रेष्ठले गोकर्णेश्वर नगर प्रमुख पदमा उम्मेदवारका रुपमा दावी गरेका छन।
लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहदै आएका श्रेष्ठ ले सबैको साथ र सहयोगले नगर प्रमुख पदमा चुनाव जित्ने दाबी गरेका छन ।पारिवारिक पृष्ठभूमि नै काँग्रेस रहेका श्रेष्ठ आफुलाई गर्भे कांग्रेस भन्न रुचाउछन ।
पार्टीले नगर प्रमुख पदका लागि उम्मेदवार दिँदाको अवस्थामा ५० वर्षे भिजन सहितको दीर्घकालीन योजना सहित अघि बढ्ने उनको भनाई छ ।
कार्यकाल ५ वर्षको भएपनि नगरलाई ५० वर्षपछि कस्तो बनाउने भन्ने बारेमा विज्ञसहितको टोली बनाएर दीर्घकालीन सोचका साथ अघि बढ्ने उनको योजना रहेको कपन अनलाइनलाइ जानकारी गराए । भक्तपुर अस्पतालको कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठ बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा पनि आवद्द रहेका छन ।
उनले त्यस्ता फोरममा काम गरेको अनुभबलाइ समेत समेटेर योजना बनाइ कार्यान्वयनमा लाने बताएका छन । सुन्दरिमाइ जेसिज संस्थापक सदस्य भएर काम गरिसकेका श्रेष्ठ राजनीति संगै समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका छन ।काँग्रेसले आफुलाई अवसर दिएमा गोकर्णेश्वरको परम्परागत कला संस्कृतिको संरक्षण गर्दै अहिले यहाँ देखिएको शिक्षा, स्वास्थ्य र सार्बजनिक यातायातको समस्यालाई सम्बोधन गर्ने गरि कार्यक्रम ल्याउने बताए ।
अहिले गोकर्णेश्वरको अस्तित्व बचाएर विकासका कार्यक्रमलाई अगाडी बढाउनुपर्ने चुनौती रहेको बताउने श्रेष्ठले यहाँको कला, संस्कृति, जात्रालाई बचाइ संरक्षण गर्दै नगरको पहिचान बचाउन भूमिका खेल्दै विकासको एकीकृत योजना बनाएर जाने आफ्नो सोच रहेको बताए । उनले अहिलेका जनप्रतिनिधिले अगाडी सारेका योजनालाई पनि समेटर थप राम्रो काम गर्नको लागि पनि नगर प्रमुख पदमा उम्मेद्वारी दिन लागेको बताएका छन ।
राम्रालाई भन्दा हाम्रालाई छान्ने प्रवृतिले केही गरौँ भनेर अघि सर्दै गर्दा ओझेलमा पर्ने पो हो की भन्ने आशंका पनि उत्तिकै रहेको बताउने श्रेष्ठले आफुले उम्मेद्वारी पाए जित्ने दरिलो आधार रहेको पनि धारणा ब्यक्त गरेका छन।