जुडोमा एकै परिवारका तीन खेलाडीलाई पदक

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २७।

एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन् ।
पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते ।
नेपाल जुडो संघको आयोजना तथा स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारको विशेष सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा इन्द्रले एपीएफकका निर्दोष चलाउनेलाई पराजित गरे । नेपाल आर्मीका कर्मा तामाङ र एपीएफका किरण गडेल तेश्रो भए । देवकीले फाइनलमा एपीएफकी रत्ना तामाङलाई हराइन् । प्रहरीकी प्रतिभा पुलामी मगर र बर्दियाकी सम्झना थापा तेश्रो बने । निशाको स्पर्धामा आर्मीकी सुमित्रा राईले फाइनलमा प्रहरीकी ओलम्पियन सोनिया भट्टलाई पाखा लगाउदै पहिलो स्थान हात पारिन् । अर्को कांस्य जित्नेमा पीजेओकी सुनिता मगर रहिन् । प्रहरीमा भर्ना हुनुअघि इन्द्र पनि पामबाटै जुडो खेल्थे ।
नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुष ६० केजीमा पामका सुबोध मण्डल पहिलो भए । उनले फाइनलमा रोल्पाका विकास विकलाई पन्छाए । प्रहरीका उमेश मगर र पामका प्रवीणकुमार दियाली संयुक्त रुपमा तेश्रो भए । ७३ केजीमुनि प्रहरीका सन्जित डंगोलले बाजी मारे । उनले फाइनलमा प्रहरीकै सुदेश दोङको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरे । एपीएफका सुजन तामाङ र बाँकेका आयुशसिंह साउद तेश्रो स्थानमा रहे ।
महिला ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधानले फाइनलमा एपीएफकी सुनिता थिङलाई निराश पार्दै स्वर्ण चुमिन् । आर्मीका विमला आले मगर र सिमाकुमारी चिडी तेश्रो भए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पुरुष÷महिलामा समान ७ गरी १४ स्पर्धा समावेश छन् । प्रतियोगिताको अन्तिम दिन आइतबार ८ स्पर्धाको फाइनल हुने छ ।

तपाइँको प्रतिक्रिया ।