यस्तो छ आजको मौसम पूर्वानुमान :सामान्यदेखि पूर्ण बदली हुने
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै आज राति प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली रहनेछ। तराईमा भने मौसम सामान्यतया सफा रहने जानकारी महाशाखाले दिएको छ।
आइतबार दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस्तै सोमबार दिउँसो प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ।
त्यस दिन राति प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।