यस्तो छ आजको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर पूर्व सर्ने देखिएकाले उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो पानी पर्नै सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभाव पर्नेछ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना रहेको विभागले जनाएकाे छ । विभागका अनुसार सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
सोमबारबाट यो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कदेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको बताइएको छ । यो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको ।