निकुञ्ज सृजित समस्या समाधान गर्न नेकपा माओवादी केन्द्र गोकर्णेश्वरको माग

कपन अनलाइन

काठमाडौँ, भाद्र १४ । गोकर्णेश्वर नगरपालिका वडा नं १ मा शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र पर्ने बस्तिहरुमा जाने सुविधा सम्पन्न सडक निर्माण गर्न र निकुञ्ज भित्रको बस्तिका स्थानीयलाई निर्वाध आबत जाबतको व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोकर्णेश्वर नगर कमिटिले नगरपालिकालाइ  आग्रह गरेको छ ।आईतबार नगर कमिटि अध्यक्ष मान बहादुर तामाङको नेतृत्वमा गएको टोलीले नगर प्रमुख सन्तोष चालिसेलाई ज्ञापन पत्र बुझाउँदै सो  आग्रह गरेको हो ।ज्ञापनपत्र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  जिल्ला सचिवालय सदस्य टिआर नेपालले नगर प्रमुख सन्तोष  चालिसेलाई हस्तान्तरण गरेका थिए ।

माग पत्रमा  निकुञ्जको चेक पोष्ट र अव्यवस्थित रुपमा रहेको सडकका कारण निकुञ्ज भित्रका बस्ति चिलाउने, ओख्रेनी, मुलखर्कका ५ हजार बासिन्दाहरु प्रभावित भएको उल्लेख गरिएको छ । स्थानीय जनता सहितको डेलिगेसनले गोकर्णेश्वर नगरपालिकाले समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न समेत आग्रह गरेको छ ।

स्थानीय सरोकारवाला र नागरिकहरुको ऐक्यबद्धता सहितको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिकाको समेत ऐक्यबद्धता माग गर्दै सो ज्ञापन पत्र प्रधानमन्त्रीलाई समेत बुझाउने कार्यक्रम रहेकोका   जिल्ला सचिवालय सदस्यटिआर नेपालले जानकारी गराएका छन् ।ज्ञापनपत्र बुझ्दै नगर प्रमुख चालिसेले निकुञ्जभित्रका बस्तिका जनताहरुलाई परेको समस्या समाधान गर्न नगरपालिकाले प्रयास गरिरहेको बताउदै नगरपालिकाले सरोकारवालालाई साथ लिएर तीनै तहका निकायहरुसँग समन्वय गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए  ।

उनले स्थानीय जनता र राजनीतिक दलको अग्रसरताले समस्या समाधानगर्ने  नगरपालिकाको प्रयासमा सहयोग पुग्ने बताउँदै छिटो भन्दा छिटो समस्याको समाधान गरी स्थानीय जनतालाई व्यवस्थित सडकबाट बस्तिमा आवत जावत गर्न सजिलो हुने व्यवस्था मिलाउन नगरपालिकाले भूमिकाखेल्दै आएको जानकारी गराएका थिए  ।

तपाइँको प्रतिक्रिया ।