गोकर्णेश्वर नगरपालिका ३ मा अक्सिजन सिलिन्डर संकलन
कपन अनलाइन
काठमाडौं,जेठ१। गोकर्णेश्वर नगरपालिका वडा नं ३ बाट अक्सिजनका सिलिन्डरहरु संकलन गरिएको छ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा महानगरीय प्रहरी प्रभाग गोकर्ण संगको समन्वयमा करिब ३२० वटा भन्दा बढी अक्सिजनका सिलिन्डरहरु संकलन गरिएको हो ।संकलित सिलिन्डर अत्यावश्यक बिरामीको लागि प्रदान गरिने र प्राप्त अक्सिजन सिलिन्डर प्रयोग पश्चात फिर्ता गरिने सर्तमा संकलन गरिएको वडा अध्यक्ष भण्डारीले कपन अनलाइनलाइ जानकारी गराए ।
देशभर कोरोना संक्रमणका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाब भएको छ । कोरोना हटस्पट बनेका काठमाडौं लगायतका अस्पतालहरुले अक्सिजनको अभाब भएको भन्दै धमाधम बिरामी भर्ना रोक्न थालेका छन् । सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको हो ।चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् ।
अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।कोभिडका बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाइले नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था आएको अस्पतालहरुले बताउदै आएका छन। त्यसैलाइ मध्य नजर गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ को पहलमा वडा भित्र बिभिन्न हस्तकला व्यवसाय गर्दै आएकाहरु बाट संकलन गरिएको हो । वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले यो विषम परिस्थितिमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका छन