कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १२।
नेपालमा पनि कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले कोरोनाको जोखिम बढेकाले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन परिपत्र गरेको जानकारी दिएका छन ।
जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बनाइएकाले जिल्लामा संक्रमणको अवस्था हेरेर निर्णय लिन निर्देशन दिइएको आचार्यले बताए ।
उहाँका अनुसार होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको छ ।
संक्रमण उच्च बिन्दुमा रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवनलगायतलाई क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टाइन र आइसोलेसनको विवरण प्रशासनलाई मागेको छ । साथै होलीमा भीडभाड गर्न नदिन पनि भनिएको छ ।
केही दिनअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको जोखिम बढ्न सक्ने भन्दै भीडभाड, जुलुस, सभा–सम्मेलनलगायत गतिविधि नगर्न अपिल गरिसकेको छ ।