दसैँको मर्म !
कपनअनलाइन
काठमाडौं,मंसिर १३ । युगेश्वर कोइराला
बाल्यकालको सुरुवातदेखि नै सुन्दै आएँ
देख्दै आएँ
भोग्दै पनि आएँ
पशु हिंसा नै मानव धर्म रहेछ भनेर बुझ्दै पनि आएँ
निर्दोष जीवको त्यो असहनीय मारकाट
र कसाईका ती रक्ताम्मे हात नै
मेरो सधैँको दृश्य बन्यो ।
कहिले रिस जाग्थ्यो, कहिले रुन मन लाग्थ्यो
तर त्यही बाल्यकालको आमोदविनोदले नै
रिस भुलाइदिन्थ्यो
उल्झिएको त्यो दिमाग खुलाइदिन्थ्यो
समयको गतिसँग चल्दै जाँदा
आफ्ना विश्वास बदल्दै जाँदा
यस बेसरम संसारमा टहल्दै जाँदा
एक दिन दसैँ आयो ।
त्यो हरेक वर्ष आउने नयाँ लुगाको हर्ष
पिङको रहर र चङ्गाको उडानको बिच
मेरो मनको मुस्कान छिनिन पुग्यो
किनकि
चारै दिशाबाट “दसैँ आयो दसैँ आयो“को आवाज
गुन्जिन थाले पछि
जब मेरा कान भराउँछन्
मेरो मनको खुल्ला आकाशमा हर्षाेल्लासले होइन
भय र त्रासले वास गर्दछ
मनको डरलाई दबाउन खोज्छु
भगाउन खोज्छु
तर त्यही दर्दनाक दृश्यले सताउँछ ।
म देवीको मन्दिरमा दर्शन गर्न जान्छु
निर्मल भाव बोकी
सारा नकारात्मकता रोकी
जताततै पवित्रता पोखी
त्यहाँ पुग्नासाथ लाग्छ यो कसाईखाना हो कि ?
किनकि मन्दिरको भूमिमा खुट्टा टेक्न नपाउँदै
ती बेश्वर पशुहरूको
चोखो रक्तको
चोखो रक्तपातबाट सिर्जित
चोखो रक्तनदीले
मेरा नङ्गा पाउ भिज्छन् ।
त्यति नै वेला हो जब मभित्रको मानव जाग्छ
र सबै सन्तोष परितोष बिर्सी
ती निर्दोष रवौफले बेहोस जीवहरूको मर्म देखी
आक्रोशले चिच्याउन थाल्छु ।
यस्तै नै वेला हो
जब मेरा यी आँखाले
आँसुको बाढमा लगाम लगाउन सक्दैनन्
र आवाज उठाऊँ भने यी ओठ हिच्किचाउन थाल्छन् ।
किनकि असोजको महिनाले ढोकामा ढक् ढक् गर्नासाथ
मभित्र रिस र त्राशका आँसु भकभक उम्लिन थाल्छन्
किनकि मन्दिरको त्यो निष्कलंक भूमिमा
कसाईले कुल्हाडी उठाई
अगाडिको त्यो निरअपराधी जीवलाई ताकी
त्यस प्राणको पुकारलाई छेउमा पन्छाउँदै
टाउको निहुराउँदै
हजारौँ गह्रौ भारको जोरले
त्यही फौलादीको कुल्हाडीलाई
त्यसको जिउमा गाड्न नपाउँदै
मभित्रको त्यो मानव
सम्पूर्ण जोसले कराउँछ, भन्छ –
ए अघाती मानव जाति,
के अनर्थ ग¥यौ यो ?
के तिमी जीवन र मरणको अन्तर देख्दैनौ ?
के संस्कृतिले तिम्रो कान यति दबाएको छ कि
तिमी प्रकृतिको पुकारै सुन्दैनौ ?
कमजोरलाई अझ अशक्त बनाई
तिमी सशक्त बन्नै किन खोज्छौ ?
करुणा नै मानव धर्म हो भनी तिमी कहिले बुझ्छौ ?
किनकि कुरा देवीको प्रसन्नताको होइन
भित्री मानवताको हो
कुरा दसैँको यो मर्मको होइन
यस चाडको पवित्रताको हो ।
यदि तिमी पशुपतिकी अर्धाङ्गिनीकै सामु
पशुको हत्या गर्छौ भने
पशु चाहिँ त्यो कि तिमी