उपत्यकामै लागू भएन सरकारले तोकेको भाडादर

काठमाडौँ, २१ कात्तिक । सरकारले उपत्यकामा १९ किमीभन्दा माथि रु २५ भाडा लिनुपर्ने तालिका सार्वजनिक गरेको दुई महिना बित्दा पनि कार्यान्वयन हुन सकेको छैन ।

यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट देशभर घटेको भाडादर लागू गरी उपत्यकामा १९ किमी भन्दामाथिको दूरीमा रु २५ भाडा तोके पनि साँखुमा रु ३९ सम्म उठाइएको यात्रुको दुःखेसो छ । यो भाडादर इन्धन अभाव हुनुभन्दा अघिदेखि नै उठाइँदै आएको हो । उपत्यकामा सबैभन्दा बढी भाडा यस रुटका यातायातले उठाएको यात्रुको गुनासो छ ।

उपत्यकामा सरकारले तोकेभन्दा बढी भाडा लिनेमा साँखु बस व्यवसायी सङ्घका बस अग्रणी रहेको उपभोक्ताको गुनासो छ । साँखुदेखि रत्नपार्कको १८ किमी दूरीमा रु ३५ भाडा उठाउँदै आएको सङ्घका कार्यालय सचिव पदम श्रेष्ठले बताउनुभयो ।

साँखु सातदोबाटो २६ किमी दूरीमा सङ्घले नै रु ३९ भाडा तोके पनि इन्धन अभावका नाममा रु ५० नै भाडा असुल्न थालेको पीडित यात्रु मञ्जिमा श्रेष्ठले गुनासो गर्नुभयो । “सङ्घले रु ३९ भाडा तोकेपनि सामान्य अवस्थामा पनि साँखु–सातदोबाटोसम्म रु ४० लिइन्थ्यो, अहिले त इन्धन अभावका नाममा न्यूनतम रु ५० असुल्न थालिएछ”–उहाँले भन्नुभयो ।

काठमाडौँको पूर्वी भागमा एक छत्र एकाधिकार कायम गर्दै आएको सङ्घले काठमाडौँको पर्यटकीय स्थल जहरसिंहपौवा, साँखु–नगरकोट, रत्नपार्क–चाँगुबेँसी, रत्नपार्क–गागलफेदी र आलापोटलगायतका स्थानमा अन्य यातायात व्यवसायीलाई छिर्न नदिई आफ्ना गाडीमात्र गुडाउँदै आएको छ । यी रुटमा मनपरी भाडा उठाउन बेला बेलामा सङ्घले ‘चुल्ठे÷मुद्रे ’को प्रयोगसमेत गर्दै आएको अर्का यात्रु मिङ्मार तामाङ बताउनुहुन्छ ।

विभागका प्रवक्ता वसन्त अधिकारी यो रुटमा बढी भाडा लिइएको गुनासो पटकपटक आएपछि अनुगमन गर्दा तोकेभन्दा बढी लिएको, चाबहिलबाट बस फर्काएको र इन्धनको अभाव भन्दै समितिले नै तोकेकोभन्दा बढी भाडा लिएको भेटिएको बताउनुहुन्छ । विभागले तोकेको भन्दा रु १ मात्र बढी भाडा लिनेलाई पनि रु पाँच हजार जरिवाना गर्न थालेको छ । सङ्घले भने चक्रपथभन्दा चार÷पाँच किमी माथि रु २ बढी भाडा लिन पाउने नियमअनुसार नै बढी भाडा उठाएको कार्यालय सचिव श्रेष्ठले बताउनुभयो । “बढी भाडा लिएकै कारण हाम्रा पनि १० वटा बसले रु पाँच हजारका दरले जरिवाना तिरेका छन्, यसैले तोकिएभन्दा बढी भाडा नउठाउन निर्देश गरेका छौँ”–उहाँले भन्नुभयो ।

काठमाडौँको पूर्वी भेगमा सङ्घका १०० वटा सवारी साधनले यात्रुलाई सेवा दिँदै आएका छन् । सङ्घका यातायात सञ्चालन हुने स्थानमा अन्यलाई छिर्न नदिएर गुन्डागर्दी शैलीमा एकाधिकार कायम गरेको भन्दै उपभोक्ताले भाडादर सच्याउन माग गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।