नन्दप्रसाद अधिकारी घटनाले अन्तराष्ट्रिय जगतमा नेपाली जनता र राजनीतिज्ञहरूको खिल्ली उडाइरहेको छ । – एम्नेस्टी अध्यक्ष सूर्यबहादुर अधिकारी

नन्दप्रसाद अधिकारी  घटनाले अन्तराष्ट्रिय जगतमा नेपाली जनता र राजनीतिज्ञहरूको खिल्ली उडाइरहेको छ । – एम्नेस्टी अध्यक्ष सूर्यबहादुर अधिकारी

अन्तर्वार्ता


कपन अनलाइन २०७१ मंसिर ४

(मानवाधिकारको क्षेत्रमा काम गर्ने विश्वको आधिकारिक र ठूलो संस्था हो एम्नेस्टी इन्टरनेसनल । नेपालमा एम्नेस्टीको सकृयता पूरानो एवम् राम्रो प्रभावकारिता  रहेको बताइन्छ । संक्रमणकालिन नेपालमा दण्डहिनता पराकाष्ठामा रहेको बेला एम्नेस्टी जस्तो विश्वका धेरै देशहरूमा शाखा रहेको आधिकारिक मानवाधिकारवादी संस्थाको दर्हो सकृयता सबैले  नेपालीले चाहेको विषय हो । यतिखेर एम्नेस्टी नेपाल शाखामा  सू्र्यबहादुर केसी अध्यक्ष छन् । लामो समयदेखि शिक्षा क्षेत्र सकृय केसी कपन निवासी हुन् । कपनको जोसेफ स्कूलको संस्थापक प्रिन्सिपलसमेत रहेका सुर्यबहादुर केसीसँग अशोकराज पाण्डेको सहयोगमा कपन अनलाइनका सम्पादक केशव पाठकले लिएको अन्तर्वार्ता । )

216116_215724768443564_4847612_n

 एम्नेस्टी इन्टरनेसनल गतिविधीमा कमजोर हुँदै गएको हो ? पछिल्लो समयमा एम्नेस्टीका बारेमा सुन्न अनि पढ्न कम मात्र पाइन्छ ?

 

सूर्यबहादुर अधिकारीः- एम्नेस्टी इन्टरनेसनलको अनगोइङ क्याम्पेन अर्थात् निरन्तर अभियान हुन्छ अर्कोतर्फ यसले कुनै सामान्य विषयहरूमा वक्तव्य जारी गर्न पाउँदैन । खासगरी एम्नेस्टीको निश्चित प्रेश रिलिज गर्ने हुन्छ जसमा सबै मानवअधिकारका घटनाहरूलाई देख्ने बित्तिकै निकाली हाल्ने भन्ने चाहिँ हुँदैन । यसको आफ्नै एउटा अनुसन्धान टोली छ जसले घटनाका बारेमा अनुसन्धान गरेर गहिराइमा थाहा नपाईकन हतारमा कुनै विज्ञप्ति जारी गर्दैन । त्यसकारण पनि एम्नेस्टी छैन कि एम्नेस्टी सुस्त गतिमा गइरहेको छ भन्ने होइन । एम्नेस्टीले दण्डहीनताको विषय, आप्रवासी कामदारको विषयमा होस्, महिला स्वास्थ्य अधिकारसँगको विषयमा होस्, रोमविधानसँग सम्बन्धित विषयलाई लिएर होस् यसले निरन्तर निगरानी गरिहेको हुन्छ चाहे त्यो लबिङ तहमा होस् वा राजनैतिक व्यक्तिहरूसँग भइरहेको हुन्छ, मन्त्रालयलाई ध्यानाकर्षण गर्ने काम भइरहेको हुन्छ । अहिलेकै सन्दर्भमा भन्नुपर्दा सेप्टेम्बरमा राष्ट्रिय कार्यसमिति आएपछि सम्पूर्ण राजनैतिक दलका प्रमुखहरूसँग भेट्ने क्रम सुरु गरिरहेको छौँ । विशेषतः हामी तीनवटा कुरातिर ध्यानाकर्षण गर्न खोजिरहेका छौँ । पहिलो त दण्डहीनताको विषय, विस्तृत शान्ति सम्झौता पछाडि राजनीतिक दलका प्रमुखहरूको जुन किसिमको ६० दिनभित्र टी.आर.सी. बनाउने प्रतिबद्धता भएको थियो यी कुराहरूचाहिँ नबनिरहेको अवस्था र पीडितलाई न्याय प्रदान गर्नका लागि संघीय मामिला अयोग, वेपत्ता आयोग बन्ने कुराहरू भएपनि यी आयोगहरू नबनेको र पीडकलाई उन्मुक्ति दिने कार्य भइरहेको हुँदा यसतर्फ एम्नेस्टीले चिन्ता व्यक्त गरेको हो । यीनै विषयहरूलाई लिएर सरकारका प्रमुखहरूसँग भेट्ने काम भइरहेको छ ।

 

मानवअधिकारको कुरामा पहिले पहिले संस्था हावी हुन्थ्यो तर अहिले व्यक्ति हावी हुन थालेको अवस्था छ ? के यसमा संस्था पछि हटेको हो कि व्यक्ति अघि बढेका हुन् ? जस्तै भनौँ गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको हकमा पनि जति व्यक्तिहरू अघि आए त्यति एम्नेस्टी अघि आएन ? यसको कारण के होला ?

 

सूर्यबहादुर अधिकारीः- नन्दप्रसाद अधिकारीको विषयमा सबैभन्दा सुरुमा एम्नेस्टी इन्टरनेसनलले नै उठाएको थियो जुन मिडियामा पनि आएको छ । यस विषयमा लिएर एम्नेस्टीले अन्तराष्ट्रिय समुृदाय र स्वदेशका अन्य मानवअधिकार सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई रिपोर्टिङ गरेर वीर अस्पतालका अगाडि प्रदर्शन पनि गरेका थियौँ । त्यसपछि तत्कालिन मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर नन्दप्रसादको मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेकाले तपाईँहरूले छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्छ भनेका हौँ जुन एम्नेस्टीले नै गरेको हो । अर्कातर्फ जीवनरक्षाका लागि उहाँको मागको विषयमा राज्य पक्षबाट किन वेवास्ता भएको छ भनेर तत्कालीन अध्यक्ष लगायत राजनैतिक दलका प्रमुखहरूलाई पनि ध्यानाकर्षण गराएको हो । खासगरी एम्नेस्टीको मुख्य काम भनेको उहाँहरूको मुद्दाको उठान गर्ने, राज्यलाई कानुनतः दोषीमाथि कारवाही गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउने हो र कानुनी उपचारको निम्ति पीडितलाई मागदर्शन गर्ने हो तर त्यही विषयमात्र हाम्रो विषयचाहिँ होइन । द्वन्द्वका बेलाका घटनाका विषय लगायत धेरै गम्भीर विषयहरूमा एम्नेस्टीले बोलेको छ ।

 

नन्दप्रसाद अधिकारीको मृत्यु भएको यतिका समय भइसक्दा पनि उहाँको लास वीर अस्पतालमै थन्किएर बसेको विषयचाहिँ एम्नेष्टीको मुद्धा हैन ?

 

सूर्यबहादुर अधिकारीः- नन्दप्रसादको मुख्य माग भनेको पीडकलाई कारवाही हो । अहिले एम्नेस्टीले राज्य पक्ष र अन्य पक्षहरूसँग पनि अदालतले दिएको आदेशअनुरुप पीडकलाई कारवाही हुनुपर्छ भन्ने ध्यानाकर्षण गराएको अवस्था हो । एम्नेस्टीले पछिल्लो समयमा गंगामायाको जीवनरक्षाको विषयलाई लिएर पटक पटक राज्य र सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण गराइरहेको छ । लास नउठेको विषयमा भन्नुपर्दा राज्य पक्ष एउटा पीडितको समस्यालाई बुझेर पीडकलाई कानुनी कारवाहीमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

 

नन्दप्रसादको मुद्दामा एम्नेस्टी जस्ता मानवअधिकारवादी संस्थाहरूको आवाज त्यति सुनिएन, कनकमणि दिक्षितजस्ता व्यक्तिहरूले व्यक्तिगत रुपमा आवाज उठाउँदा उहाँहरू आफैँ विवादमा पर्नुभयो जसले गर्दा  विषय नै  आलोचित बन्यो  । नन्दप्रसाद आफैँ जुन विषयमा अनसनमा बसे आफैँमा त्यो ठीक थियो कि थिएन ?

 

सूर्यबहादुर अधिकारीः- पीडितको तर्फबाट भन्नुपर्दा पीडकलाई माफ दिनुहुन्न, कारवाही गर्नुपर्छ भनेर अनसन बस्नु उहाँको अधिकारको कुरा हो । प्रक्रियाको विषयमा कुरा गर्नुपर्दा नन्दप्रसादको छोरामात्र नभइ कोही कुनै नागरिकको विनाकारण हत्या भएको अवस्थामा सरकारलाई कारवाहीको लागि ध्यानाकर्षण गर्नु वा दबाब दिनु स्वाभाविक नै हो । कारवाहीको माग गर्दै दबाब दिनुलाई कति ठीक थियो थिएन भन्ने भन्दा पनि उहाँले मागको सम्बोधन गर्न दबाब दिनुभयो र हत्याराको कारबाही नहुँदै मृत्युको मुखमा  पुग्नुभयो । एम्नेस्टी त यस घटनालाई नेपालका राजनैतिक दलको जस्तो सामान्य रुपमा हेर्न सक्दैन, मानवअधिकारका दृष्टिले यो घटनाले अन्तराष्ट्रिय जगतमा नेपाली जनता र राजनीतिज्ञहरूको खिल्ली उडाइरहेको छ ।

 

दण्डहीनताको पराकाष्ठमा नेपाल छ भन्दा एम्नेस्टी इन्टरनेसनलको प्रतिक्रिया कस्तो हुन्छ ?

 

सूर्यबहादुर अधिकारीः- यहाँको भनाइमा एम्नेस्टी पूर्ण रुपमा सहमत छ र हाम्रो रिर्पोटहरूमा पनि नेपाल दण्डहीनतको पराकाष्ठमा छ भन्ने उल्लेख छ । जबसम्म एउटा पीडितले न्यायको सुनिश्चितता प्राप्त गर्न सक्दैनन्, व्यक्ति हत्या, बलात्कारदेखि लिएर जघन्य अपराधमा लागेका व्यक्तिहरूले उन्मुत्ति पाइरहेको अवस्था छ जुन राज्य पक्ष वा गैरराज्य पक्षबाट प्रोत्साहन गर्ने काम भइरहेको छ, जबसम्म यी कुराको अन्त्य हुन सक्दैन वा भनौँ पीडितले जबसम्म न्यायको साहारा पाउँदैन तबसम्म दण्डहीनताको अवस्था चरम स्थितिमा छ भन्नुपर्ने हुन्छ । राजनैतिक दल, सरकार र अन्य निकायहरू न्यायको लागि निष्पक्ष रुपमा जहिले सम्म लाग्दैनन् तबसम्म दण्डहीनता पराकाष्ठमा छ भन्नुको विकल्प छैन ।

555035_749036508445718_777322176_nएम्नेस्टी इन्टरनेसनलको अध्यक्षभन्दा पहिले यहाँ उपाध्यक्ष पदमा आसीन हुनुहुन्थ्यो । एम्नेस्टीजस्तो संस्थाको उपाध्यक्ष पदमा हुनुभएका तपाईँ कपनमा बस्नुहुन्थ्यो भने अदालतबाट दोषि आरोपित बालकृष्ण ढुङ्गेल पनि कपनमै बस्थे । प्रहरीजस्तो गएर हिरासतमा लिन नमिले पनि  एम्नेस्टीको उपाध्यक्ष हुँदाको प्रभावकारीता किन केहि देख्ना पाइएन ? 

 

सूर्यबहादुर अधिकारीः- स्पष्ट रुपमा भन्नुपर्दा म कपनवासी भएर पनि यहाँ को बस्छ, को बस्दैन भन्नुभन्दा पनि राज्य पक्षले किन कारवाही गर्न सक्दैन जसलाई सर्वोच्च अदालतले दोषी ठह¥याएको छ । एम्नेस्टी कुनै एउटा व्यक्ति पक्षमा जाँदैन, हाम्रो स्पष्ट धारणा के छ भने राज्य पक्षले दोषी ठहरिएका व्यक्तिलाई कारवाही गर्न सक्नुपर्छ र राजनैतिक दलहरूले पनि व्यक्तिको नाम विशेषले भन्दा पनि दोषी ठहराएको व्यक्तिलाई कारवाहीको वातावरण बनाउनुपर्छ भन्ने नै हो । पीडितले न्याय नपाउनु भनेको यस्तै कारणले गर्दा हो । पीडितलाई न्याय सुनिश्चित गरिरहेको अवस्था छैन । पीडितलाई न्याय दिन नसक्ने राजनैतिक दलहरूले पनि जनतासँगको कमिटमेन्ट ख्याल गर्नुप¥यो, उहाँलाई हेर्ने जनता, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको ख्याल गर्नुप¥यो । जनताको प्रतिनीधि भएर बस्नुभएका राजनैतिक दलले पनि जनतासँगको कमिटमेन्टलाई ख्याल गर्दै दोषीलाई कारवाही गर्ने वातावरण बनाइदिनुप¥यो । एम्नेस्टीले भनेको पनि त्यहि नै हो कि राजनीतिक दल व्यक्तिविशेषमा बहस गर्नुभन्दा पनि सर्वोच्चले दोषी ठहराएका व्यक्तिलाई कारवाहीका लागि वातावरण सहज बनाउन लाग्नुप¥यो र सरकारले आफ्नो कदम चाल्न पाइला चाल्नुप¥यो ।

 

एम्नेस्टीले वार्षिक प्रतिवेदन बनाउने मात्र काम गर्छ भन्ने कुरा एकातिर छ भने, अर्कातिर राजधानी केन्द्रित एम्नेस्टी मोफसल पुग्दैन भन्ने कुरा अघि आएको छ ? नेपालको मानवअधिकारको क्षेत्र नै सहर केन्द्रित हुनु पर्ने  हो

 

सूर्यबहादुर अधिकारीः- एम्नेस्टी पटक्कै सहरमुखी छैन । एम्नेस्टीले गाउँकेन्द्रित थुप्रै कार्यक्रमहरू पनि गरेको छ । जस्तै उदाहरणका लागि भन्नुपर्दा महिला स्वास्थ्य सम्बन्धी अधिकारको विषयलाई लिएर, प्रजनन स्वास्थ्य अधिकारको विषयलाई लिएर र सँगसँगै महिला स्वास्थ्यसँग सम्बन्धित तथ्य अगाडि आएको छ , नेपालमा छ लाख महिलाहरू आङ खस्ने समस्याबाट पीडित छन्, यो तथ्य सर्वप्रथम एम्नेस्टीले नै अगाडि ल्याएको हो । नेपालका अत्यन्तै विकट मानिने जिल्लाहरूमा गएर गरिएको अनुसन्धानको आधारमा यो रिर्पोट आएको हो । छ लाखभन्दा बढी महिलाहरू आङ खस्ने समस्याबाट पीडित छन् भन्ने रिर्पोट तयार पार्न रुकुम, रोल्पा देखि लिएर रामेछाप, त्यस्तै हिमालका जिल्लाहरूदेखि लिएर तराईका जिल्लाहरूसम्म पुगेर एम्नेस्टीले अनुसन्धान गरेको छ । दोस्रो कुरो हाम्रो विषयलाई जनतासामु र विश्वसामु पु¥याउने मिडियाहरू त सहरमै केन्द्रित छन् । त्यसकारणले कार्यक्रमहरू सहरमा हुनसक्छ । अर्को उदाहरण भन्नुपर्दा अहिले विश्वभरि “माई बडी, माई राइट्स” भन्ने विषयमा महिला प्रजननको विषय उठान गरेर कार्यक्रम सञ्चालनमा आएको छ जुन कार्यक्रम नुवाकोटको एक विकट ठाउँमा गएर विश्वभरि त्यो कार्यक्रमको समुद्घाटन भयो जसको प्रत्यक्ष प्रसारण सिएनएन र बीबीसीले गरेका थिए । त्यहाँ स्वास्थ्यको एउटा ठूलो क्याम्प राखेर समुद्घाटन गरिएको थियो । यसकारण एम्नेस्टी गाउँमा पुगेको छैन भन्ने चाहिँ होइन त्यहाँ गएर लिइएका सूचनाहरूलाई प्रसारण, प्रकाशन गर्ने कामचाहिँ केही हदसम्म सहरबाट भएको हो ।

 

देश दण्डहीनताको पराकाष्ठमा पुगेको भएर एम्नेस्टी अब महिला हिंसा, महिला स्वास्थ्यको विषयमा लागिपरेको हो ?

 

सूर्यबहादुर अधिकारीः- एम्नेस्टी इन्टरनेसनलले हरेक देशमा आफ्नो छुट्टै विषयमा काम गरिरहेको हुन्छ भने अर्कोतर्फ विश्वसमुदायमा अगाडि आउन नसकेका विषयहरूलाई अगाडि ल्याउने काम गर्छ । अहिले आप्रवासी कामदारको विषयलाई लिने हो भने विश्व समुदायको ध्यान नेपालमा छ । केही समयअगाडि एम्नेस्टीले कतारमा भएको आप्रवासी कामदारको मानवअधिकारको विषयलाई लिएर कार्यक्रम गरेको छ, त्यसले विश्वसमुदायको ध्यान मोडेको छ । अहिले नेपालमा राजनैतिक विषयतर्फ दण्डहीनताको विषयलाई लिएर गर्नुपर्ने लबिङ, भेटघाट, ध्यानाकर्षणको काम गरिरहेको छ भने सँगसँगै नेपालको आप्रवासी कामदारहरूको स्थिति पनि भयावह छ किनकि नेपालबाट दिनहुँ १५६१ भन्दा माथि कामदारहरू विदेशिएका छन् भने दैनिक ४ जनाभन्दा बढीको लास पनि आइरहेको छ । सँगसँगै नेपाल सरकारको आँकडा अनुसार पनि २५ प्रतिशत आर्थिक अवस्था रेमिट्यान्सले धानेको छ । नेपालका राजनीतिज्ञहरू आफैँ खिचातानी गरेर बसिरहेको अवस्थामा यस्ता कामदारहरूको विषयमा कसले ध्यान दिने भनेर अन्योल भएको अवस्थामा एम्नेस्टी इन्टरनेसनलले यसलाई बाहिर ल्याउन खोजेको हो । अहिले यसमा धेरै सुधारको क्रममा पनि छ ।

 

तपाईँहरूले दण्डहीनता, महिला स्वास्थ्य, आप्रवासी कामदारको विषयमा कुरा चाहिँ उठाउनु भएको छ । यसको प्रभावकारीता कस्तो छ ?

 

सूर्यबहादुर अधिकारीः- पहिलो त एम्नेस्टी इन्टरनेसनल भनेको संयुक्त राष्ट्रसंघको कन्सल्टेन्सी स्ट्याटस प्राप्त गरेका संस्था हो जसले मानवअधिकारका विषयहरूमा यसले गरेका अनुसन्धानहरू, यसले बनाएका प्रतिवेदनहरूलाई ग्रहण गर्ने काम गर्छ जसको आधारबाट संयुक्त राष्ट्रसंघका मानवअधिकारका विषयहरूमा बाहिर आउने ठाउँ पाउँछन् । दोस्रो कुरा यसले मानवअधिकारका विषयहरूलाई अन्तराष्ट्रियकरण गर्ने काम गर्छ । अन्तराष्ट्रिय स्तरका कानुन र विधि विधानहरूमा एम्नेस्टीले नै कुरा उठाउँछ जुन विषयको सजगता नेपालका राजनीतिज्ञहरूलाई, संघसंस्थाहरूलाई सजग गराएको हुन्छ । यसको बारेमा मैले चर्चा गरिरहनुभन्दा पनि सबैलाई थाहा नै छ । अस्तिकै कतारको कामदारको विषयमा जुन मुद्दा उठ्यो त्यसलाई नेपालका मिडियाले पनि प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गरे, त्योभन्दा बढी प्राथमिकता अन्तराष्ट्रिय माध्यमहरूले गरेका छन् । यसको असर कत्ति हुन्छ भन्ने कुरा त यसैबाट पनि हेर्न सकिने भयो । दोस्रो कुरो सशस्त्र द्वन्द्वको कालमा एम्नेस्टीले उठाएका विषयहरू जस्तै मैना सुनुवारको विषय भयो त्यस्तै बालकृष्ण ढुङ्गेलको विषय, त्यस्तै कुमार लामाको विषय के भयो भनेर आज पनि हेर्न सकिन्छ । चाहे त्यो बाँदरमुडे घटना होस्, चाहे दोरम्बा घटना होस्, यसले उठाएका घटनाहरू अन्तराष्ट्रिकरण भएका छन् जसका कारणले नेपालका राज्य पक्ष होस्, गैर राज्य पक्ष होस् अथवा राजनीतिज्ञहरू नै किन नहुन्, यी कुराको मनन गर्न आज बाध्य भएका छन् । अर्को घटना भन्नुपर्दा कुबेरसिँह राना आई.जी.पी. हुँदा एम्नेष्टीले एउटा रिर्पोट सार्वजनिक गरेका थियो जुन रिर्पोटमा भनिएको छ कि धनुषामा भएको हत्या काण्डको दोषीको कमाण्ड कुबेरसिँह रानाले नै गरेका थिए भनेर बाहिर अयो, एम्नेस्टीले जुन अनुसन्धान ग¥यो जहाँ उहाँ आफैँपनि म संलग्न छैन भनिरहुनभएको मान्छे पछि घटनामा संलग्न हो भन्न बाध्य हुनुभयो । उहाँलाई अदालतले सफाइ दियो त्यो भिन्न पाटो भयो, तर एम्नेस्टीले आधार र प्रमाणसहित घटनालाई लिएको हुन्छ भन्ने प्रमाण मात्र हो । मैना सुनुवारको मुद्दा भन्नुपर्दा यो सेनाले गरेको हो र यसमा सेना दोषी छ भनेर सेनाका त्यहाँका तत्कालीन प्रमुखलाई कारवाहीको सिफारिस गरिएको हो । यसको अर्थ के बुझ्न जरुरी हुन्छ भने दण्डहीनताको अन्त्यका लागि नेपालका राजनीतिज्ञहरूले चासो नदिनु भनेको नेपाली जनताले न्याय नै नपाउनु चाहिँ होइन । यदि नेपालले पीडकलाई कारवाहीको लागि र पीडितको न्यायको लागि नेपाल आफैँ सक्षम हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । नेपालले कारवाही नै गर्न सक्दैन भने पीडितले अन्तराष्ट्रिय अदालत समक्ष गएर पनि न्यायको लागि आवाज उठाउन सक्छन् ।

 

यहाँले दुईवटा व्यक्तिको नाम लिनुभयो, मैना सुनुवारको मुद्दाका दोषी र कुमार लामा । दुवैजना सरकारी पक्षका मानिस परे उनीहरू कारवाहीको घेरामा परे । तर विद्रोही पक्ष खासै कारवाहीको दायरामा आएको देखिएन । अहिलेको नन्दप्रसाद अधिकारीको घटनामा दोषी माओवादी नै भए तर यसमा कारवाही हुनसकेन । प्रभावकारितामा अलि कमि भएको हो ?

 

सूर्यबहादुर अधिकारीः- कुरो के हो भन्दा यसमा पहिलो दोषी राज्य पक्ष नै हो किनकि राज्यले दोषी ठह¥याएका व्यक्तिलाई किन कारवाही गर्न सक्दैन ? दोस्रो कुरा दण्डहीनताका निम्ति जनताको न्याय सुनिश्चितताका लागि राजनीतिज्ञहरूको कमिट्मेन्टको कुरा रहन्छ, मानवअधिकारको उल्लंघनको घटनामा उन्मुत्ति पाउँछु भनी कुनै राजनितिक दलका प्रतिनिधीले ठान्नुभएको छ भने अहिलेको अवस्थामा त्यो गलत साबित हुन्छ ।

मैले खास जोड्न खोजेको कुरा के हो भने, केही अघिमात्र माओवादीका नेता मोहन वैद्यसँगको भेटमा हामीले दण्डहीनताको विषयलाई उठाएका छौँ । हामी मानिस वा दल विशेषमा रहन चाहँदैनौँ, एम्नेस्टीले मानवअधिकारको उल्लंघनको घटनालाई अगाडि ल्याउँछ, कारवाही नहुन्जेलसम्म ध्यानाकर्षण गर्छौँ, त्यसमा राज्य पक्षले गोडा कमाउनु भएन भन्ने नै हो । दण्डहीनताको अन्त्य गर्न र दोषीलाई कारवाही गर्न किन दिनुहुन्न भनेर वैद्यलाई सोध्दा उहाँले पनि त्यही भन्नुभयो हामी पनि दण्डहीनताको अन्त्यका निम्ति लागि परेका छौँ । खाली जनयुद्धको समयमा भएका घटनाका विषयहरूलाई मानवअधिकारका दोषी भनेर ठाडो कारवाही गर्दाखेरि शान्ति प्रक्रियामा कतै अप्ठ्यारो पर्छ कि भन्ने धारणा राख्नुभयो । हामीले उहाँलाई के भनेर विस्वत पा¥यौँ भने शान्ति प्रक्रिया अन्तिम निष्कर्षमा पुग्नुपर्छ तर त्यसोभन्दै गर्दा पीडितले न्याय नपाउनु भनेको अर्को विद्रोह हुनसक्छ । पीडित त आफ्नो न्यायको लागि सधैँ लडिरहेको हुन्छ, यो अवस्थामा तपाईँ शान्ति प्रक्रिया कुनलाई मान्नुहुन्छ ?, नेताहरू खुल्ला रुपमा हिँड्न वा पीडितलाई न्याय दिन । पीडितले न्याय पाउँदैन भने शान्ति प्रक्रिया निष्कर्षमा पुग्दैन भनेर उहाँलाई जानकारी गराएका थियौँ जुन कुरा हामी छिट्टै नै प्रधानमन्त्री र राजनीतिक दलका प्रमुखहरूसँग राख्नेछौँ ।

 

सशस्त्र द्वन्द्वमा धेरै मानिसहरू मरे ? त्यो बेलाका दोषीहरू सबैलाई कारवाही गर्न सकिएला ?

 

सूर्यबहादुर अधिकारीः- दोषीलाई कारवाही गर्नुपर्छ भन्नेमा हाम्रो कत्ति पनि विमति छैन । दोषी ठहरिएका र अदालतले किटान गरेका व्यक्तिहरूलाई कारवाही हुनुपर्छ जुन सत्य निरुपण तथा मेलमिलाप आयोग बन्ने कुरा छ, यो आयोगचाहिँ अन्तराष्ट्रिय स्तरको बनेको छैन भनेर एम्नेस्टीले स्पष्ट भनेको छ, यहाँचाहिँ पीडकलाई उन्मुत्ति दिने खालको विधेयक पास गरिएको छ जसमा हाम्रो पूर्ण सहमत छैन । बेपत्ता नागरिकलाई तत्काल सार्वजनिक गर्नुपर्छ भनेर हामीले खबरदार गर्दै आएका पनि छौँ । कारवाही सम्भव छ भन्ने कुरामा एम्नेस्टी इन्टरनेसनल कारवाही सम्भव हुन्छ भन्नेमा स्पष्ट छ । त्यसमा सरकार पक्षले ध्यान दिनुपर्छ ।

 

एम्नेस्टी इन्टरनेसनलको अध्यक्ष कपनमै पाउनुले कपनका बासिन्दा, यहाँका मिडियाले कस्तो अनुभूति  गर्न पाउलान् ?

 

सूर्यबहादुर अधिकारीः- मैले राष्ट्रिय विषयहरूलाई कसरी जनतामाझमा पु¥याउन सकिन्छ भनेर खोजिरहेको स्थितिमा कपनका मिडिया विशेषतः कपन अनलाइनले यसमा विशेष साथ र सहयोग दिनुप¥यो । यहाँको नागरिक सू–सुचित हुने जुन अधिकार छ यसका लागि मैले यहाँका नागरिक समाजसँग समन्वय गरी कुनै कार्यक्रम राख्न सकिन्छ साथसाथै सबैभन्दा सहज मिडियम भनेको मिडिया हो । म एम्नेस्टीमा भएको कारण एम्नेस्टी इन्टरनेसनलले उठाएका विषय जुन हाम्रो गाउँ, ठाउँ र टोलसँग मिल्छन्, त्यस्ता कार्यक्रमलाई यहाँ ल्याउने काम गर्नेछु । एम्नेस्टीले मुख्यतय सू–सुचित हुने अधिकारको काम गर्ने भएको हुँदा मिडियाका साथीहरूको सहयोग अपरिहार्य हुन्छ । कपन क्षेत्रमा मानवअधिकार सम्बन्धी कार्यक्रम र विषयहरू उठान गर्न एम्नेस्टी इन्टरनेसनल र यहाँको मिडिया हातेमालो गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।

(तस्वीरहरूः सूर्यबहादुर अधिकारी फेशबुकबाट)

 

तपाइँको प्रतिक्रिया ।