नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा

कपन अनलाइन

काठमाडौं माघ २६ ।  नमोबुद्ध नगरपालिकामा राजश्वमा अनियमितता भएको समाचारपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार छापा मारेको छ ।

अख्तियारबाट आएको दुई सदस्यीय टोलीले नगरपालिकाको राजस्व संकलनको लागि प्रयोग भएका रसिद लगायतका कागजपत्र नियन्त्रणमा लिएको श्रोतले जानकारी दिएको छ । अख्तियारको टोलीले आवश्यक कागजात संकलन गरी अनुसन्धान सुरु गरिएको बताएको छ ।

नगरपालिकाले राजस्व संकलनमा कर्मचारीहरुको मिलेमताेमा करदातालाई ३ हजारको रसिद दिएर १ हजार राजश्व खातामा दाखिला गर्ने गरेको प्रमाणसहित समाचार प्रकाशित भएका थिए । अनियमितता भएको समाचार बाहिरिएपछि विभिन्न पदमा बसेकाहरुले शक्तिका आधारमा रसिद नै नकाटी राजस्वमा मनलाग्दी गर्ने खुलासा भएको थियो ।

नगरपालिकाले लेखा समिति संयोजक एवं वडा नम्बर १० का अध्यक्ष रामकृष्ण उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

अख्तियारको टोलीले नगरपालिकामा छापा मारेसँगै छानबिन समितिका तीन जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । वडा नं २ का वडाध्यक्ष सञ्जिव ढकाल, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, नगर कर्मचारी एवं समितिका सदस्य सचिव राजिव श्रेष्ठले विज्ञप्ति निकालेर राजीनामा दिएका हुन् ।

नगरपालिकाको कार्यपालिका बैठकले १५ दिनको समय तोक्दै वडाध्यक्ष एवं लेखा समिति अध्यक्ष रामकृष्ण अधिकारीको संयोजकत्वमा धर्म सिं लामा, सञ्जिव ढकाल र कर्मचारी राजिव श्रेष्ठ सदस्य सचिव रहेको समिति बनाएको थियो ।

तपाइँको प्रतिक्रिया ।