शुभकामना बडादशैँको, दशैं दशा नबनोस् !!

सम्पादकीय

नेपालीहरुको महान् चाड विजयादशमी यतिखेर सबैजनाको घरआँगनमा आएको छ । देशले नै साह्रै महत्वको रुपमा लिने यो पर्वमा सबै वर्ग तथा जातिका मानिसहरुले आफुलाई चाडपर्वमय बनाउने गर्छन् । वर्षभरी काम गरेर यी दिनमा मिठा खाना र राम्रा लुुगा लगाउने पर्वको रुपमा लिइने दशैंलाई आसुरी शक्ति बिरुद्ध दैवी शक्तिको विजयको रुपमा मनाइने गरिन्छ । देवीको पूजाआजाका साथ मनाइने यो पर्वमा टाढा टाढा रहेको आफन्तहरु जम्मा भएर टीका तथा जमरा लगाई आर्शीर्वाद लिने पर्व भएकोले यसको सामाजिक महत्वको पनि अत्यन्त विशाल छ ।

 
dashainयद्यपि दशैंसँगै हाम्रो समाजमा देखिएको अनेकानेक विकृतिले हामी नेपालीलाई हरेक वर्ष सताउने गर्छ । अर्काेले घोडा चढ्यो भने आफू घरको धुरी चढ्ने हाम्रो प्रवृत्तिले हामीलाई नै कमजोर बनाइरहेको छ । चाडपर्वका नाममा आफ्नो क्षमताभन्दा बढिको खर्च गर्ने प्रवृति हाम्रो परम्परा बनिसकेको छ । आफ्नो क्षमता जस्तो छ त्यसै किसिमको चाडवाड मनाउनुभन्दा देखासेखी गर्दै ऋण गरेर सान देखाउने प्रवृतिले हामीलाई गरिब बनाइरहेको छ । खसिबोका काट्नै पर्ने, जाँडरक्सि खानै पर्ने, नयाँनयाँ लुुगा लगाउने पर्ने होडबाजीमा हामीले चाडपर्वलाई कमजोर बनाइरहेका छौं । चाडवाडमा जुवातास खेलेर परिवारलाई दिक्क मात्र हैन घरखेत उजाड बनाएको घटना पनि हरेक वर्ष समाचार बन्ने गरेको छ ।

 

 
चाडवाड मनाउने हो, चाडवाड देखाउने हैन । हामी देखाउन बढि लालयित हुने संस्कारमा हुर्केका छौं । यसलाई परिवर्तन गर्न आवश्यक छ । यसपालाको विजयादशमीलाई सार्थकरुपमा धार्मिक र सामाजिक मूल्य मान्यता अनुरुपको बनाउन हामी समर्थ होऔं । सबै कपन अनलाइनका पाठकहरुलाई विजयादशमी ०७० सालको हार्दिक मंगलमय शुभकामना ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।