द ब्रिटिस कलेजद्धारा दलित टोलमा ब्ल्याङ्केट वितरण

द ब्रिटिस कलेजद्धारा दलित टोलमा ब्ल्याङ्केट वितरण

कपन अनलाइन 

रौतहट, माघ ९ । ‘ द ब्रिटिस कलेज’ले रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका वडा नं. ५ स्थित बडहरवा टोलको दलित बस्तिमा न्यानो ब्ल्याङ्केट वितरण गरेको छ ।

बाढी तथा शीतलहर बाट पीडित गाउँबासीहरुको कष्टकर जीवनलाई मध्यनजर गर्दै द ब्रिटिश कलेजको पहलमा ‘ब्ल्याङ्केट फर ह्युम्यानीटी’ नामक कार्यक्रम मार्फत उक्त राहत सामाग्री वितरण गरिएको हो ।

द ब्रिटिश कलेजका निर्देशक महेन्द्र कंडेलको प्रमुख आतिथ्यतामा १७५ दलित परिवार भएको बस्तीमा रहेका अतिविपन्न तथा असहाय, बृद्धबृद्धा लगायत अन्य बाढीपीडितलाई न्यानो ब्ल्याङ्केट बाडिँएको हो । बागमती खोलाको छेउमा अवस्थित रहेको पासवान बस्तिका ५० घर– परिवार बर्सेनी बाढीको सिकार बनिरहे पनि ठोस व्यवस्था नहुँदा वर्षौदेखि सुकुम्बासीको रुपमा बस्न बाध्य छन् ।

सुकुम्बासी र दलित भएकै कारण चुनावमा नेताहरुको भोट माग्ने गतिलो भाडो बनेको छ उनीहरुको गाँस, बास र कपास । ठूला–ठूला विकासको सपना देखाएर भोट माग्ने अनि चुनाव जितेपछि सरकारी सेवा सुविधाबाट समेत बञ्चित हुने गरेको बस्तीबासी बताउँछन् ।

तराईमा करिब एक महिनादेखि चलेका महा–विनाशकारी शीतलहरको प्रकोपमा परि रौतहटमा २४ जनाको मृत्यु भइसकेको छ ।

यो दुखद घडीमा कुनै पनि निकायबाट यस समुदायमा सहयोग नपुगेका अवस्थामा द ब्रिटिस कलेज काठमाडौँले पासवान परिवारलाई न्यायो कपडा दिएकोमा निकै खुशी लागेको पत्रकार अभिमन्यु पटेलले बताए ।

‘ब्ल्याङ्केट फर ह्युम्यानीटी’ कार्यक्रमलाई रौतहटका समाजिक अभियन्ता एवं प्रभावशाली (पत्रकार) मधेश प्रदेश अनलाईन अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष अभिमनु कुमार पटेलको समन्वयमा सम्पन्न भएको थियो ।

यस कार्यक्रममा द ब्रिटिस कलेजका सुमन श्रेष्ठ, नेपाली पत्रकी पत्रकार प्रतिक्षा भट्ट लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।