कपनका प्रतिभाः साहित्यका तारा स्व. घटराज भट्टराई

कपनमा बसोबास गरेर देशभरी चर्चाका विषय बन्ने व्यक्तिहरुको ठूलै लाम हामीले पेश गर्न सक्छौं । कपन अनलाइनले यसअघि स्व. श्री कृष्णप्रसाद चालिसेको बारेमा यस अघि केही महत्वपूर्ण प्रोफाइल प्रकाशित गरिसकेको छ । आज बाहिर जिल्लाबाट कपन आएर चर्चित हुने स्व. श्री घटराज भट्टराई हामी प्रस्तुत गर्न चाहन्छौं ।  नेपाली साहित्यका यी महान् श्रष्टाको कपन १ नं. वडामा शालीक पनि रहेको छ । यो शालीक कपन गाविसमा रहेको सामाजिक क्षेत्रका चर्चित अनुहारमध्येबाट पहिलो पनि हो ।

घटराज भट्टराईको जन्म वि.सं. १९९९ मा ओखलढुंगाको सेर्नामा भएको थियो । पिता जयप्रसाद भट्टराई र माता बालकुमारी भट्टराईका उनी जेष्ठ सुपुत्र थिए । उनको बाल्यकाल त्यति सुमधुर थिएन । गाउँले जीवनका हरेक दुःख उनले भोगे ओखलढुंगामा । सानै उमेरमा पुरेत्याईं कामसमेत गरेका थिए उनले ।
नेपाली साहित्यमा आज ठूलो नामले चिनिने यी श्रष्टाले तेह्र वर्षको उमेर विवाह गरेका थिए । आफ्नो उमेरको सत्र वर्ष हुँदा घटराज भट्टराई काठमाडौं प्रवेश गरेका हुन् । काठमाडौं आएर पनि अरुका घरमा काम गरेर उनले पढाइ गरेका थिए । दुःख गरेर शास्त्री पास गरेपछि उनी सरकारी जागिरे जीवनमा होमिए । जागिर जीवनबाट उनले साहित्यमा कलम चलाउन थाले । कविता कुसुम र आजकी सीता नामका दुई कविता संग्रहसँगै लेखनका विविध क्षेत्रमा हात चलाए । २०२५ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर उत्तीर्ण गरिसकेपछि घटराज भट्टराई हाम्रो कपनमा बसोबास गर्न आइपुगे । कपनको वडा नं. १ फैकामा उनी तथा उनका परिवारको आज पनि बसोबास रहेको छ । कवि तथा प्राध्यापक प्रयागराज वाशिष्ठ उनकै भाइ हुन् । ०३१ सालपछि स्व. भट्टराइले विभिन्न कलेजहरुमा प्राध्यापन गर्न थाले । पछि पशुपति क्याम्पसका प्रमुख भए । धेरै हामी कपनवासी उनलाई पशुपति क्याम्पसका प्रमुखरुपमा चिन्छौं । उनी लामो समय यो कलेजमा प्रमुख भए ।
कसैको ईष्या, डाहा तथा अनावश्यक मोह नगर्ने स्वभावका स्व. भट्टाराई नेपाली साहित्य क्षेत्रका करिब ३० पुरस्कार बाँड्ने संस्थाका सदस्य सचिव थिए । एक समय उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका मनोनित प्राज्ञ पनि भए । स्व. भट्टराई काव्यात्मक मात्र थिएनन् । उनका निबन्ध, समालोचना, समिक्षा तथा व्यक्तिगत अनुसन्धान विषयमा पुस्तक तथा लेख अनुसन्धान प्रकाशित छन् । विशेषगरी जीवनी लेखनमा उनको नाम अग्रणीरुपमा आउँथ्यो । उनका मोतिराम भट्ट तथा महाकवि देवकोटा सम्बन्धि अनुसन्धात्मक पुस्तक पनि प्रकाशित छन् एवम् अत्यन्त चर्चित छन् । उनका करिब ५० पुस्तकहरु प्रकाशित भएका छन् । तिनिहरुमा नेपाली लेखककोश अत्यन्त चर्चित मानिन्छ ।
नेपाली भाषा साहित्य तथा प्राध्यापनमा समर्पित रहँदा रहँदै स्व. भट्टराईलाई मश्तिष्क क्यान्सरका कारण ०६३ श्रावण २२ गते निधन भयो । नेपाली साहित्यका यी अमूल्य निधि तथा हाम्रो कपनका गहनाप्रति कपन अनलाइन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

-केशव पाठक
फोटो – कपिल ढकाल

तपाइँको प्रतिक्रिया ।