नेपालमा रहेका पेट्रोल र ग्यासको अनुसन्धान गरिने उद्योग मन्त्री पाण्डे

काठमाडौँ, ९ मङ्सिर । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा भएका पेट्रोलियम पदार्थको खानीको स्थिति यकिन गर्न छ महिनाभित्र अनुसन्धान गर्न लागिएको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा आज भएको छलफलमा उहाँले केकति पट्रोलियम पदार्थको स्रोत छ भन्ने कुरा यकिन नभएको बताउनुभयो ।

उहाँले जापान सहयोग नियोग (जाइका)ले २६ वर्षअघि गरेको अनुसन्धानमा धनगढीदेखि मोरङसम्म १० वटा ब्लकबाट पेट्रोलियम पदार्थ निकाल्न सकिने सुझाव दिएको उल्लेख भएको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग भएको छलफलमा मन्त्री पाण्डेले अनुसन्धानपछि केही निजी कम्पनीले यस सम्बन्धमा अनुमति लिएर पनि कार्य अघि नबढाएको जानकारी दिनुभयो ।

एक वर्षअघि तिनको अनुमति खारेज गरिएको र हालैमात्र बसेको आकस्मिक बैठकले छ महिनाभित्र केकतिमात्रामा पेट्रोलियम पदार्थ उपलब्ध हुन्छ भन्नेबारे अनुसन्धान अघि बढाउने कार्यक्रम पनि अघि बढाइएको उहाँले बताउनुभयो ।

सो सर्वेक्षणमा नेपालका ७२ वटा कुवाबाट ३१ करोड घनमिटर ग्यास निकाल्न सकिने र यसबाट २० हजार घरपरिवारलाई ५० वर्षसम्म सेवा दिन सकिने तर ग्यास सिलिण्डरमा भर्न सकिने स्थिति भने नभएको उल्लेख गरिएको छ ।

टेकुस्थित पचली भैरव नजिक विगतमा निकालिएको ग्यास पुनःप्रयोगका लागि अनुसन्धान गर्न निर्देशनसमेत भइसकेको मन्त्री पाण्डेले बताउनुभयो ।

लामो समयसम्मको नाकाबन्दीका कारण उद्योग क्षेत्रमा परको असर न्यून गर्न नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको चर्चा गर्दै मन्त्री पाण्डेले यस अवधिमा उद्योग व्यवसायीले लिएको ऋणको ब्याज मिनाहा गर्ने वा अनुदान दिनेबारे छलफल अघि बढाइएको उल्लेख गर्नुभयो ।

उद्योग सचिव जयमुकुन्द खनालले सरकारबाट जारी श्वेतपत्रले मात्र उद्योग क्षेत्रको संरक्षण गर्न नसकिने हुनाले वर्तमान समस्या समाधानका लागि कूटनीतिक पहल हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उद्योग व्यवसायमा परेको असर न्यून गर्न उद्योग, वाणिज्य र अर्थमन्त्रालयबीच छलफल बढाउन आग्रह गर्नुभयो ।

महासङ्घका सभापति पशुपति मुरारकालगायतका पदाधिकारीले लामो समयसम्म दैनिक रु.दुई अर्ब बराबरको घाटा मुलुकले व्यहोर्नुपरेको जानकारी दिनुभयो ।

उद्योगधन्दा बन्द हुँदा श्रमिकलाई तलब दिन सकिने स्थिति नभएको वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न कठिन भएको गुनासो उहाँले गर्नुभयो ।

बैठकमा समितिका सभापति भीष्मराज आङदम्बेले सदस्यको सुझावसहित देशलाई आत्मनिर्भर बनाउन अल्पकालीन तथा दीर्घकालीन रुपमा खानी सञ्चालनमा ल्याउन, स्वदेशी उत्पादन प्रवद्र्धन गर्न समितिले विगतमा दिएका सुझावलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।