इन्धन बिक्री वितरण सुरु

इन्धन बिक्री वितरण सुरु

धनगढी, ८ मङ्सिर । कैलालीमा इन्धन बिक्री वितरणको काम आपूर्ति तथा व्यवस्थापन जिल्ला समितिको निर्णय र रोहवरमा गर्न थालिएको छ ।

समितिले गरेको निर्णय बमोजिम सोमबार मात्र विभिन्न पेट्रोल पम्पलाई ९२ हजार लिटर इन्धन बिक्री वितरण गरिएको छ । वितरण गरिएको इन्धनमा डिजेल ५२ हजार लिटर तथा मट्टितेल र पेट्रोल २०÷२० हजार लिटर रहेको छ ।

सीमित परिमाणमा आपूर्ति भइरहेको इन्धनको बिक्री वितरण न्यायोचित नभएको जनगुनासो बढेपछि बिक्री वितरणलाई व्यवस्थित र न्यायोचित बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको थियो ।

कालो बजारी र महङ्गी बढेको जनगुनासोलाई मध्यनजर गरी बजार अनुगमन कडाइका साथ गर्न थालिएको प्रमुख जिल्ला अधिकारी चापागाईँले जानकारी दिनुभयो । यस क्षेत्रमा डिजेल, पेट्रोल र रासायनिक मलको अभावसँगै सीमा क्षेत्रमा यी वस्तुको कालोबजारी, महङ्गी पनि बढेको स्थानीयले गुनासो गरेका छन् ।

सुदूरपश्चिमका लागि दैनिक २० ट्याङ्कर डिजेल र पेट्रोल आवश्यक रहेको भएपनि हाल दैनिक चार÷पाँच ट्याङ्कर मात्रै भित्रिने गरेको छ । मल अभावको समस्या टार्न सीमा क्षेत्रबाट अवैधरुपमा भित्रिने न्यून गुणस्तरको र महङ्गो मूल्यको मल खरिद गर्नुपरेको किसानले बताएका छन् ।

खाना पकाउने ग्यासको विकल्पमा सर्वसाधारणलाई दाउरा उपलब्ध गराउने पहलसमेत सुरु गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।