निर्दोष मारिएकामा आपत्ति

काठमाडौँ, ७ मङ्सिर । सुरक्षाकर्मीले चलाएको गोली लागी घरको छतमा बसिरहेका सप्तरी राजविराजस्थित नेताचोकका दिलीपकुमार साहको निधन भएकामा नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ ।

पार्टीका क्रियाशील सदस्य ४२ वर्षीय साहको सुरक्षाकर्मीले चलाएको गोली लागी घाइते भएकामा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदा बाटामै निधन भएकामा काँग्रेसले भत्र्सना गर्दै निहत्था र निर्दोष व्यक्तिको हत्या हुनु दुःखद भएको मुख्यसचिव ऋषिकेश तिवारीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै काँग्रेसले तराई–मधेसमा भएको आन्दोलनप्रति संवेदनशील भई वार्ता एवम् संवादका माध्यमबाट समस्याको समाधान गर्न सरकार र आन्दोलनरत पक्षको ध्यानाकर्षण गराएको छ ।

तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद सकलदेव सुतिहार, रामअयोध्याप्रसाद यादव, डा अमरेशकुमार सिंह, तेजुलाल चौधरी, दिनेशप्रसाद प्रसैला, डा गणेश मन्डल र बुद्धिसागर चौधरीले न्यायिक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।