सुदूरपश्चिम विश्वविद्यालयको ताला खुल्यो

भीमदत्तनगर, ४ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनले लगाएको ताला डेढ महिनापछि आज खुलेको छ ।

गत असोज १४ गते मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरी द्वारिकादेवी ठकुरानी विश्वविद्यालय राख्ने निर्णय गरेपछि यहाँका विद्यार्थी सङ्गठनले विरोध गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

शिक्षा मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्ले विश्वविद्यालयको नाम परिवर्तन गर्न गरेको निर्णयबारे मन्त्रालयमा जानकारी नआएको पत्र पठाएपछि आज बिहानदेखि आन्दोलित विद्यार्थी सङ्गठनले तालाबन्दी फिर्ता लिएका हुन् । विश्वविद्यालयको नाम परिर्वतनबारे स्थानीयस्तरमा सल्लाह नै नगरी एकलौटी ढङ्गले द्वारिकादेवी नाम राख्ने निर्णय गरिएको भन्दै गत असोज १५ गते नेपाल विद्यार्थी सङ्घबाहेकका विद्यार्थी सङ्गठन आन्दोलनमा उत्रिएका थिए ।

‘मन्त्रालयको पत्र आएपछि विद्यार्थी सङ्गठनले कार्यालयको तालावन्दी खोलेका छन्”, नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका अध्यक्ष गङ्गादत्त भट्टले भन्नुभयो–“अब कार्यालयको कामकाज नियमित रुपमा सञ्चालन हुने वातावरण बन्यो ।”

तपाइँको प्रतिक्रिया ।