सहर छोडी गाउँ जाने क्रम बढ्यो

भक्तपुर, ४ मङ्सिर । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएर काम नपाएपछि विभिन्न जिल्लाबाट भक्तपुर आएर मजदूरी गर्दै आएका मजदुर धमाधम घर फर्किन थालेका छन् ।

एकातिर इन्धन अभावले काम नपाउने र अर्कोतर्फ खाना पकाउने ग्याससमेत नपाएपछि जिल्लामा वर्षौदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएका मजदुर घर फर्कन थालेका हुन् ।

विगत सात वर्षदेखि सूर्यबिनायकमा भारी बोक्ने काम गर्दैआएका भकुण्डेबेँसीका श्याम लामा परिवारसहित घर फर्किएका छन् । साना दुई बच्चा र श्रीमतिलाई लिएर आज घर फर्किदै गरेका लामाले भन्नुभयो— “घरमा भए दाउरामा कोदो र मकैको ढिँडो खाएर पनि बस्न सकिन्छ, यहाँ न काम पाइन्छ, न खाना पकाउने ग्यास, सकस भएर गाउँ फर्कन लागेका हाँै ।”

घरको ढलानको काम गर्दै आएका सिन्धुलीका रामशरण विकको परिवार पनि विगत एक महिनादेखि काम नपाएपछि घर फर्किएको छ । अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा बस्दै आएको विक परिवार स्कुल जाँदै गरेकी १२ वर्षकी छोरी सान्नानीलाई समेत लिएर घर फर्किएको छ ।

“गाउँमा खेतीपाती र मजदूरी गर्छुँ,” उहाँले भन्नुभयो— “ठेकेदारले काम नदिएको एक महिनाभयो, आम्दामी छैन, खर्च मात्रै गरेर के बस्नु, ग्यास नहुँदा दुई दिनभयो खाना खान नपाएको, त्यसैले गाउँ जान लागेका हाँै ।”

लामा र विकका परिवार प्रतिनिधि पात्र मात्रै हुन् । इन्धन अभावले काम नपाएपछि दैनिक घर फर्कनेको लर्को लाग्न थालेको छ । काम गर्दै आएका कलकारखाना, उद्योग, निर्माणका काम रोकिएको र भारी बोक्ने कामसमेत पाउन छाडेपछि मजदुर घर फर्कन थालेका हुन् ।

मध्यपुरथिमि नगरपालिका बस्दै आएका घर निर्माण गर्ने ठेकेदार सुन्दरलाल श्रेष्ठले मजदूरलाई काम दिन नसकेपछि घर फर्काएको बताउनुभयो । “घर निर्माण र ढलान गर्ने ३० जना मजदुरलाई बिदा दिएको छु, एक महिनादेखि काम छैन, काम सुरु भएपछि बोलाउँला भनेपछि सबै घर गएका छन् ।”

इन्धन अभावले विशेष गरी मजदूर बढी मर्कामा परेका छन् । दैनिक कमाएर परिवार पाल्नुपर्ने मजदूर वर्ग मजदुरी र ग्यास नपाए पछि घर फर्कन थालेका हुन् ।

तपाइँको प्रतिक्रिया ।