परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै आफ्नै आमाको हत्या

गौशाला, १ मङ्सिर । परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै आफ्नै आमाको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस– ६ बस्ने १८ वर्षीय युवक मोतिराम महरा रहेको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

युवक महराले मेघनाथ गोरहन्ना गाविस– ७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा कर्तव्य गरी मारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

सोमबार साँझ आफ्नो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी जिप्रका महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका महोत्तरीले जनाएको छ ।

गत आइतबार बिहान ९ बजेको समयमा प्रहरीले मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा विद्या पासवान र रामकुमारी देवीको घाँटी र हातखुट्टामा डोरीले बाँधेर मारिएको अवस्थामा शव बरामद गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।