‘नेपाल–भारतबीच राहदानीको व्यवस्था हुनुपर्छ’ : गोपालप्रसाद थपलिया

‘नेपाल–भारतबीच राहदानीको व्यवस्था हुनुपर्छ’ : गोपालप्रसाद थपलिया

काठमाडौँ, ३० कात्तिक । वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाले नेपाल र भारतको सीमा सुरक्षाका लागि राहदानीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

दुई देशका जनताबीच लामो र ऐतिहासिक सम्बन्ध रहे पनि भारतीय शासक वर्ग र केही गलत तत्वले बेलाबेलामा जनतालाई लडाउने र भड्काउन प्रयास गरेकाले राहदानीको व्यवस्था हुनुपर्ने उहाँको तर्क छ ।

नसासम्बन्धी ‘म्यास्थेनिया ग्राभिस’ को अमेरिकामा उपचार गरेर हालै फर्कनुभएका ‘प्रेस स्वतन्त्रता सेनानी’ बाट सम्मानित थपलियाले तराई मधेसका आन्दोलनमा केही भारतीय पक्षको पनि संलग्नता पाइनुले दुई देशको सम्बन्ध बिगार्ने र नेपाली जनतालाई कष्ट दिने गिद्धे दृष्टि राख्ने तत्वको स्वार्थ देखिएको बताउनुभयो ।
कपनअनलाइन सँग कुरा गर्दै उहाँले भन्नुभयो – “नेपालको सुरक्षाका लागि भारतीय सीमामा नेपालले बार हाल्नैपर्छ र राहदानीको व्यवस्था हुनुपर्छ । दैनिक आवातजावत र आपसी व्यापारका लागि विशेष व्यवस्था गर्नुपर्छ ।”

उहाँले नयाँ संविधानमा असन्तुष्ट भई मधेसी दलले गरिरहेको आन्दोलनले लोकतन्त्रको हित नगर्ने र यसले नेपाललाई विखण्डनतर्फ धकेल्ने दाबी पनि गर्नुभयो ।
जनआन्दोलनका घाइते रहेका थपलियाले अमेरिकामा रहँदा पनि नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउनुभएको थियो । थप उपचारका लागि केही महिनापछि खर्च जुटाई पुनः अमेरिका जाने जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।