अमेरिकाद्वारा नेपालसामु १०९ रनको चुनौती प्रस्तुत

काठमाडौँ, २ कात्तिक । मलेसियामा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अमेरिकाले नेपाललाई १०९ रनको चुनौती पेस गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनररा एकेडेमी ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४६ ओभरमा सबै विकेट गुमाएर १०९ रन जोड्यो । अमेरिकाले १०९ रन जोडे पनि नेपालले डक वर्थ लुइस नियमका आधारमा १०९ रनकै लक्ष्य पाएको हो ।

खराब मौसमका कारण निर्धारित ५० ओभरको खेललाई छोट्याएर ४८ ओभरमा झारिएको हो । अमेरिकाले ३५ ओभर खेलेपछि खराब मौसमकै कारण केही समयका लागि खेल स्थगितसमेत भएको थियो । नेपालले अब जितका लागि ४८ ओभरमा १०९ रन नै बनाउनुपर्नेछ ।

अमेरिकाका लागि सागर पटेलले सर्वाधिक ४४ रनको योगदान दिए । उनले तीन चौका र एक छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी तोहिदुल इस्लामले १४ तथा गौरव पटाङकरले ११ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

अमेरिकालाई १०९ रनमा समेट्ने क्रममा नेपालका प्रेम तामाङ एक्लैले पाँच विकेट लिए भने आरिफ शेखले दुई विकेट लिए । त्यस्तै सुशील कँडेल र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । अहिले ८.२ ओभरको खेल सकिँदासम्म नेपालले एक विकेटको क्षतिमा ५९ रन जोडेको छ ।

यसअघिका दुई खेल खेलेको नेपालले दुबै खेलमा जित हासिल गर्दै चार अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।