जिल्लास्तरीय क्रिकेटको उपाधि युनिक ब्वाइजलाई

जिल्लास्तरीय क्रिकेटको उपाधि युनिक ब्वाइजलाई

त्रिशूली (नुवाकोट), २६ असोज । नुवाकोटमा सञ्चालित जिल्लास्तरीय खुल्ला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि युनिक ब्वाइज क्लब ढुङ्गेले उपाधि जितेको छ ।

नुवाकोट क्रिकेट सङ्घको आयोजनामा भएको खेलको सोमबार सम्पन्न फाइनल खेलमा युनिकले प्रतिस्पर्धी नक्षेत्र स्पोर्टस् क्लब पिपलटारलाई ८७ रनले पराजित गरी उपाधि उचाल्न सफल भएको हो ।

उपाधिसँगै युनिक ब्वाइजले नगद रु २० हजार र उपविजेता नक्षेत्रले रु १० हजार नगद पुरस्कार प्राप्त गरेको छ । क्रिकेट प्रतियोगितामा सो राशि नुवाकोटको अहिलेसम्मको ठूलो राशि हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युनिक ब्वाइजले निर्धारित २० ओभरको खेलमा पूरै ओभर खेल्दै चार विकेट गुमाउँदै नक्षेत्र स्पोर्टस्लाई १६४ रनको विजयी चुनौती दिएको थियो । खेलमा युनिक ब्वाइजको सञ्जय शाहले नट आउट ६८ रन बनाए भने अर्पण कुँवरले २७ रन बनाए ।

बलिङतर्फ नक्षेत्र स्पोर्टस्का भूपेश अर्याल, प्रदीप हमाल, विराटमानसिंह डङ्गोल र राज अधिकारीले समान एक÷एक विकेट लिन सफल भए ।

एक सय ६४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको नक्षेत्र स्पोर्टस्ले १५ दशमलव १ ओभरमा अलआउट हुँदै मात्र ७६ रनमा सीमित हुन पुग्यो । खेलमा नक्षेत्र स्पोर्टस्लाई सस्तोमा समेट्न युनिक ब्वाइजका अर्पण कुँवरले चार र सञ्जय शाहले तीन विकेट लिन सफल भए ।

नक्षेत्रका तर्फबाट सुशान्त तिमिल्सिनाले २७ र योगेश भाटले १९ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन नसक्दा युनिक ब्वाइजसँग नक्षेत्र ७ रनले पराजित हुन पुग्यो ।

प्रतियोगितापछि आयोजित कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विजेता तथा उपविजेता क्लब र खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी वितरण गर्दै खेलको विकासका लागि स्थानीय तथा क्लबस्तरबाट खेलाडीहरु सङ्गठित भई क्रियाशील रहनुपर्ने बताउनुभयो ।

प्रतियोगितामा नक्षेत्र स्पोर्टस् क्लब ‘ए’ का सुमन न्यौपाने उत्कृष्ट बलर भई नगद रु पाँच हजारका साथ ट्रफी हात पारे भने सोही टिमका सुशान्त तिमिल्सिनाले उत्कृष्ट ब्याट्सम्यान र युनिक ब्वाइजका सञ्जय शाहले म्यान अफ दी सिरिजको पुरस्कार जित्न सफल भए । रासस

तपाइँको प्रतिक्रिया ।