सहकारीको लगानी जलविद्युत्मा

सहकारीको लगानी जलविद्युत्मा

रुपन्देही (तिलोत्तमा), १९ असोज । रुपन्देहीका पाँच सहकारीले म्याग्दी जिल्लाको घोर गाविसमा पर्ने म्याग्दी जलविद्युत् आयोजनमा लगानी गर्ने प्रकृयामा गएका छन् ।

म्याग्दी जलविद्युत् आयोजनाले यसबाट ८ दशमलव ३ मेगावाट विद्युत् निकाल्ने स्विकृति ऊर्जा मन्त्रालयबाट लिएको छ । लगानीकर्ताले घोर खोलामा १४ मेगावाट विद्युत् निकाल्न सकिने क्षमता भएको भन्दै ८ दशमलव ३ बाट बढाएर १४ मेगावाटको स्विकृति लिने तयारी भइरहेको जनाएको छ ।

उक्त जलविद्युत्मा जिल्लाका जनकल्याण, सामुदायिक, सत्यवती, तिलगंगा, मङ्गलमय बहुउद्देश्यीय बचत तथा ऋण सहकारीले लगानी गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

यी सहकारीले म्याग्दीमा निर्माण हुने म्याग्दी हाइड्रो पावरमा झण्डै रु आठ करोड लगानी गर्ने स्विकृत गरेका छन् । डिभिजन सहकारी कार्यलय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद धिमिरेले सहकारीको हाइड्रोमा लगानी सकारात्म भएको बताउनुभयो ।

जिल्लामा बचत सङ्कलन र ऋण लगानीमा मात्रै सीमित भइरहेका सहकारीले दीर्घकालीन योजनासहित बहुउद्देश्यीय काम सुरु गरेका हुन् । उनीहरुको लगानीबाट सुरु गरेको हाइड्रो पावरबाट उत्पादित बिजुली २०७६ साल असारसम्म केन्द्रीय प्रशारण लाइनमा जोडिसकिनेछ ।

“सबै सहकारीले साधारणसभाबाट पारित गरेका छन्, अव अघिल्लो प्रक्रिया सुरु भइसकेको छ”, सामुदायिक सहकारीका सल्लाहकारसमेत रहनुभएका म्याग्दी हाइड्रो पावरका सञ्चालक होमबहादुर गलामीले भन्नुभयो, “अव छिट्टै डिभिजन सहकारी र रजिष्ट्रारबाट स्विकृति लिइनेछ ।”

सहकारी ऐनमा हाइड्रोमा लगानी गर्ने विषयमा स्पष्टता नभएका कारण लगानी गर्न केही झण्झटिलो भएको हो । साधारणसभाबाट पारित भइसकेपछि डिभिजन सहकारी कार्यालयले लगानीको लागि स्विकृति दिनुपर्ने हुन्छ । सबै सहकारीले लगानी कोष तयार गरेर अडिट रिपोर्टमा नै देखाइसकेका छन् ।

“यसले स्विकृतिका लागि सहज हुन्छ” गलामीले भन्नुभयो । हाइड्रोको काम सुरु गर्न आर्थिक काम अन्तिम चरणमा पुगिसकेको लगानीकर्ता तिलगंगा सहकारीका अध्यक्ष गमप्रसाद रेश्मीले बताउनुभयो । “छिट्टै नै निर्माणको प्रक्रियामा जान्छौँ” उहाले भन्नुभयो ।

ऋण तथा बचतमा मात्रै खुम्चिएर सहकारी बस्न हुदैन भन्ने सोचका साथ ऊर्जामा लगानी गर्न लागिएको उहाँले बताउनुभयो । तिलगङ्गाले रु साढे दुई करोड लगानी गर्ने स्विकृति साधारणसभाबाट लिएको छ । अहिलेसम्म रु ६० करोड रकम जम्मा भइसकेको छ ।

जलविद्युत् आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रै निर्माण सकिनेछ । सञ्चालक गलामीका अनुसार आगामी हिउँदबाट निर्माणको काम सुरु हुनेछ । गलामी सल्लाहकार रहेको सामुदायिक सहकारीले रु एक करोड १९ हजार लगानी गर्ने प्रस्ताव गएको वर्ष नै पारित गरेको थियो ।

डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १०९ वटा बुहउद्देश्यीय र बचत तथा ऋण सहकारी ३७० वटा रहेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।