देवरद्वारा भाला प्रहार गरी भाउजूको हत्या

देवरद्वारा भाला प्रहार गरी भाउजूको हत्या

धनकुटा, १४ असोज । धनकुटाको डाँडाबजारमा गएराति देवरले भाला प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् ।

डाँडाबजार– २ का ३२ वर्षीय कालीबहादुर याखाले भाउजू ३४ वर्षीया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भाला प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेकी मोतिमायाको घटनास्थलमै मृत्यु भएको हो । राति करिब ८ बजे घटना भएलगत्तै डाँडाबजार अस्थायी प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक मोहितकुमार यादव नेतृत्वमा गएको टोलीले घटनास्थलबाट हत्यामा प्रयोग भएको भालासहित देवर कालीबहादुरलाई नियन्त्रणमा लिएको छ ।

शव परीक्षण र घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय राति टोली जान समस्या भएपछि बिहान प्रहरी नायब निरीक्षक दिनेश अधिकारी नेतृत्वको टोली घटनास्थल पुगेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

मृतकका श्रीमान् ताराबहादुर याखा वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् । घरमा पाँच वर्षीया छोरी छन् । श्रीमान् विदेश गएपछि घरमा देवर भाउजू र छोरी बस्दै आएका थिए । देवरले भाउजूको हत्या गर्नुको कारण भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रवक्ता विमल बस्नेतले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।