महिलाको कथाः गोठालेको नाटक ‘च्यातिएको पर्दा’

काठमाडौँ, १३ असोज । छपन्न बर्ष अगाडिको काठमाडौँको तत्कालीन परिवेशलाई मुख्य कथावस्तु बनाएर लेखिएको नाटक ‘च्यातिएको पर्दा’ समसामयिक अवस्थामा पनि उत्तिकै सान्दर्भिक लाग्छ ।

साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले लेख्नुभएको नाटक च्यातिएको पर्दालाई सुन्धाराको काठमाडौँ मलस्थित ‘थिएटर मल’ले मञ्चन गरेको छ ।

सुदाम सिकेको परिकल्पना र निर्देशन रहेको सो नाटकले महिलालाई समाजले हेर्ने दृष्टि र महिलाको अवस्थालाई चित्रण गरेको छ ।

भट्टीपसल चलाएर बसेका आमा जानकी र छोरी अनुलाई नाटकले मुख्य भूमिकामा उतारेको छ । आमाको भूमिकामा विजया कार्की र छोरीको भूमिकामा आकृती श्रेष्ठले जीवन्त अभिनय गरेका छन् । भट्टीमा रक्सीभन्दा बढी महिलाको यौवन बिक्छ भन्ने कथनलाई यथार्थमा देखाउन नाटक सफल भएको छ । छोरीले कसैसँग भागेर जान्छु भन्दा आमाले जान दिन्नन् किनकि बैँसकी छोरीले भट्टी छाड्दा त्यसले आर्थिकरुपमा पार्ने असर आमाले पहिल्यै आँकिसकेकी हुन्छिन् । त्यसैले पनि उनले छोरीलाई ‘नजा तेरो विवाह अर्कै केटासँग गरिदिन्छु’ भन्दै रोक्न खोज्छिन् ।

भट्टीमा रक्सी बेच्ने महिलालाई त्यहाँ आउने सबै पुरुषले राम्रो दृष्टिले हेर्न नसक्ने कुरालाई भट्टीमा नियमित रक्सी पिउन आउने दुई पुरुषले प्रमाणित गरिदिन्छन् । दुवै पुरुष विवाहित हुन् । एउटाले घोषित रुपमा नै अनुलाई दोस्रो पत्नी स्वीकार्छु भनेर ती युवतीलाई लैजाने प्रयास बारम्बार गरिरहन्छ भने अर्कोले अघोषित रुपमा माया गर्ने दाबी गरिरहेको हुन्छ ।

कथित तल्लो जात र लफङ्गाको पदवी पाएको गोकुलले आफू दुवै पत्नीलाई बराबर माया र हरेक आवश्यकता पूरा गरिदिने प्रलोभन देखाउँदै दोस्रो पत्नी बन्न अनुलाई आग्रह गरिरहन्छ । अर्को समाजमा सभ्य कहलिएको पुरुष जनक भने बाहिर नदेखाउने तर भित्रभित्रै माया गर्ने प्रवृत्तिको हुन्छ । तर ऊ पनि विवाहित भएकाले रक्सी खाएको बेला मात्र माया गरेको बताउँछ । बाहिरी रुपमा अनुलाई वास्ता नगर्ने भएकाले जनकलाई उनले भट्टीमा आएका बेला निकालिदिन्छिन् ।

अनुकी आमा बारम्बार आफू माइतीमा निकै शान र इज्जतसँग बसेको दोहो¥याउँदै भट्टी पसल खोलेर बसेको भएपनि इज्जत जाने काम नगर्न छोराछोरीलाई सम्झाउने ढोङ गर्छिन् । यसले समाजमा रहेका ढोँगी मानिसको प्रवृत्तिलाई उजागर गरेको छ ।

अनुका दाइ आफ्ना हाकिमका छोरा जनक भट्टीमा आएका बेला उनको अफिसमा आफू ‘टाइपिस्ट’ का रुपमा रहेकाले अब बढुवा गरेर मधेसमा सरुवा गर्न बारम्बार चाकडी गरिरहन्छ । ऊ आमा र बहिनीलाई त्यही भट्टी पसलमा छाडेर मधेसमा विवाह गरी जान चाहन्छ । ऊ अवसरको खोजीमा रहेको कुरा दोहोराइरहन्छ । अवसर पाएमा मानिसले आफ्नो जन्म दिने आमा, बाबु, परिवारलाई पनि हेर्दैन भन्ने उसको चरित्रले देखाउँछ ।

नाटकमा छोटो तर महत्वपूर्ण भूमिकामा अर्की युवती पार्वती देखा पर्छिन् । उनको भूमिकाले देखिन्छ कि उनी कुनै विवाहित पुरुषले आवश्यकता पूरा गरेर बाहिर राखिएकी युवती हुन् । सबै कुराले भरिपूर्ण रहेकी ती युवती यस कारणले पनि आधा रातमा भट्टी पसलमा उनका पुरुषका लागि रक्सी लिन आइपुग्छिन् । उनलाई आफू त्यसरी उसको ‘रखौटी’ भएर बस्नुपर्दा कुनै दुःख नलागेको बताउँछिन् । अहिलेको परिवेशमा पनि युवतीले आफ्ना आवश्यकताका लागि विवाहित पुरुषसँग विवाह नगरिकनै बस्ने गरेको यथार्थलाई नाटकले प्रस्तुत गरेको छ ।

आकृति श्रेष्ठ, विजया कार्की, केदार श्रेष्ठ, जीवन राई, प्रकु पाण्डे, कविर खड्का, कुशल पाण्डे, दिलजङ्ग गुरुङ र सञ्जिता सज्जीको अभिनय रहेको उक्त नाटकले भट्टी पसलभित्र नै समाजमा रहेका सम्पूर्ण चरित्रलाई देखाउन सफल भएको छ ।

नाटक मञ्चन भइरहँदा गीतारको प्रत्यक्ष सुमधुर सङ्गीतले नाटकको कथालाई आकर्षक बनाएको छ । समग्रमा नाटकले समसामयिक अवस्थाका महिला चरित्रको पनि प्रतिनिधित्व गरेको छ । एक घन्टा १० मिनेटको उक्त नाटकको बीचमा एकै व्यक्तिका लामा संवाद भने केही पट्यारलाग्दा छन् ।

बुधबारदेखि सुरु भएको सो नाटक असोज २५ गतेसम्म चल्नेछ । साँझ ५ः३० बजेदेखि सुरु हुने सो नाटकको टिकटदर रु २५० रहेकोछ । रासस

तपाइँको प्रतिक्रिया ।