काभ्रेपलाञ्चोकमा कुकुरलाई नपुङ्सक बनाइँदै

काभ्रेपलाञ्चोकमा कुकुरलाई नपुङ्सक बनाइँदै

बनेपा, १२ असोज । काभ्रेपलाञ्चोक जिल्लामा भुस्याहा कुकुरलाई नपुङ्सक बनाउन अभियान थालिने भएको छ ।

भुस्याहा कुकुरका कारण आतङ्क फैलिएको र जथाभावी मानिसलाई टोकेको र त्यसबाट रेबिजको जोखिम बढेकाले त्यस्तो अभियान सञ्चालन गर्न लागिएको जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा शरणराज पाण्डेले पहिलो चरणमा जिल्लाका एक हजार भुस्याहा कुकुरलाई सन्तान उत्पादनमा रोक लगाउन भाले कुकुरलाई नपुङ्सक र पोथी कुकुरलाई बन्ध्याकरण गरिने जानकारी दिनुभयो ।

उहाँले अभियानका रुपमा जिल्लाका पाँच नगरपालिका र ७६ गाविसमा स्थानीय निकायसँग समन्वय गरेर नपुङ्सक बनाउन अभियान थालिने छ भन्नुभयो ।

पशु चिकित्सक मणि सापकोटाले काभ्रेपलाञ्चोकमा झन्डै तीन हजार भुस्याहा कुकुर भएको हुनसक्ने अनुमान गर्दै अभियान सफल हुनका लागि स्थानीय निकायले सहयोग गर्नुपर्ने अनिवार्य छ भन्नुभयो ।

उहाँले पशुसेवा कार्यालयबाट प्राविधिक जनशक्ति भएपनि बजेट अभाव भएको औँल्याउँदै एउटा कुकुरलाई नपुङ्सक बनाउन कम्तीमा रु दुई हजार लाग्ने बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।