काठमाडौँलाई साइकल सिटीका रुपमा विकास गर्र्नुपर्नेमा जोड

काठमाडौँलाई साइकल सिटीका रुपमा विकास गर्र्नुपर्नेमा जोड

काठमाडौँ, १२ असोज । पेट्रोलियम पदार्थको अभावलाई न्यूनीकरण गर्न र वातावरण सुधारका लागि काठमाडौँलाई साइकल सिटीका रुपमा विकास गर्नुपर्ने माग गरिएको छ ।

pic 1

आज यहाँ काठमाडौँ महानगरपालिकाअन्तर्गत पर्यटन तथा सम्पदा महाशाखाले आयोजना गरेको छलफल कार्यक्रममा तराईको आन्दोलनसँगै नेपाल र भारतको सिमानामा भएको नाकाबन्दीका कारण हाल नेपालमा देखिएको समस्यालाई कम गर्नका लागि सरोकारवालाहरुले यस कुराको माग गरेका हुन् ।

दिगो सहरी यातायात दृष्टिकोण अङ्गीकार गर्न, सहरका सडकलाई पैदलयात्री र अपाङ्गमैत्री बनाउने, छुट्टै साइकल लेनको व्यवस्था गर्ने र सार्वजनिक सवारी साधनको प्रयोग गर्न उपयुक्त वातावरण तयार गर्न सके विद्यमान समस्याको समाधानमा योगदान पुग्ने सम्पदा महाशाखा प्रमुख श्रृजु प्रधानले बताउनुभयो ।

प्रमुख प्रधानका अनुसार भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले देशको प्रमुख सहरमा पैदलयात्रा र साइकल प्रयोगका लागि अनुकूल मानिए पनि प्रयोगमा नआउनाले यस्तो समस्या आएको हो ।

कार्यक्रममा सहभागीहरुले यस सन्दर्भलाई दृष्टिगत गर्दै सहरहरुलाई स्वच्छ र जनमैत्री बनाउन, आयातित खनिज इन्धनमा आधारित यातायात प्रणालीमा तत्काल परिवर्तन ल्याउनुपर्ने खाँचो रहेको पनि बताएका थिए ।

दीर्घकालीन यातायात व्यवस्था सहज बनाउन र वातावरणीय सन्तुलन कायम गर्न पैदलयात्रा, साइकल प्रयोग प्रणालीको विकास गरी साइकल समावेशी सहर बनाउन सरोकारवालाहरुले माग गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।