चिलीमा शक्तिशाली भूकम्पबाट मर्नेको सङ्ख्या १२ पुग्यो

चिलीमा शक्तिशाली भूकम्पबाट मर्नेको सङ्ख्या १२ पुग्यो

सान्टीयागो, १ असोज । चिलीमा बुधबार राति गएको ८.३ रिक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १२ पुगेको समाचार छ ।
उक्त भूकम्पका कारण सुनामीको चेतावनी दिइएको इलाकाबाट लाखाँै व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
बुधबार गएको यो भूकम्प चिलीको इतिहासमा नै छठौँ शक्तिशाली भूकम्प भएको बताइएको छ ।
विश्वका विभिन्न देशमा यसवर्ष गएका भूकम्पमध्ये चिलीमा बुधबार गएको यो भूकम्प शक्तिशाली भएको जनाइएको छ ।
यस भूकम्पको केन्द्रविन्दु राजधानी सान्टीयागोबाट २२८ किलोमिटर उत्तरी इलाकामा कम मात्र गहिराईमा रहेको पुष्टि भएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार सो भूकम्प ८.३ रिक्टर स्केलको मापन गरिएको बताएको छ ।
चिलीका गृहमन्त्री जोर्गे बुर्गोसले तटीय क्षेत्रमा पर्ने सहर र गाउँबाट सवै व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने आदेश दिइएको बताउनु भएको छ ।
भूकम्पको विस्तृत विवरणलगायत मानवीय र सम्पत्ती क्षतिको समाचार अझै पनि प्राप्त भइनसकेको समाचारमा जनाइएको छ ।
गत वर्षको अप्रिल महिनामा उत्तरी चिलीमा आएको ८.२ रिक्टर स्केल शक्तिशाली भूकम्प गएको थियो ।
सो भूकम्पमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दश लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको थियो ।
सन् २०१० को फेबु्रअरीमा गएको ८.८ रिक्टर स्केलको भूकम्पबाट दक्षिण चिलीको तटीय क्षेत्रमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै ३० अर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।