नेपालद्वारा साउदी अरेबिया नौ विकेटले पराजित

नेपालद्वारा साउदी अरेबिया नौ विकेटले पराजित

काठमाडौँ, १७ भदौ । मलेसियामा जारी एसिसी यू– १९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि नौ विकेटको फराकिलो जित हात पारेको छ ।

मलेसियाको सेलोंगर क्लबमा टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो । साउदी अरेबियाका फैसल खानले १९ र जैनले ११ रनबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । दुई ब्याट्सम्यान भने शून्य रनमै पेबोलियन फर्के ।

साउदी अरेबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सुशील कँडेलले ४ तथा सुनिल धमला र प्रेम तामाङले दुई÷दुई विकेट लिए । कँडेलले १० ओभरमा नौ मेड्न राख्दै १२ रन खर्चिए ।

छपन्न रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका ओपनर सुनिल धमला ३४ रनमा अविजित रहे भने कप्तान राजु रिजाल १४ रनमा अविति रहे ।

जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिँदै च्याम्पियन बन्ने सम्भावना कायमै राखेको छ । अहिले जारी अर्को खेलमा मलेसियाले अफगानिस्तानलाई हराए नेपाल च्याम्पियन बन्ने छ । अफगानिस्तानले जितेमा नेपाल उपविजेता बन्नेछ ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कुबेतलाई पराजित गरेको छ भने अफगानिस्तानसँगमात्र हार व्यहोरेको थियो ।

प्रतियोगितामा पाँच खेल खेलेको साउदी अरबले अहिलेसम्म एक खेलमा पनि विजय हासिल गर्न सकेको छैन । जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले भने चार खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

तपाइँको प्रतिक्रिया ।