‘म थारु आन्दोलनमा लागेको मान्छे हुँ’– वरिष्ठ नेता देउवा

‘म थारु आन्दोलनमा लागेको मान्छे हुँ’– वरिष्ठ नेता देउवा

काठमाडौँ, ८ भदौ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु समुदायको मुक्तिका लागि भएका आन्दोलनमा आफूले धेरै काम गरेको बताउनुभएको छ ।

Rss_Images_1440511391451_BO-Ktm-Interaction-1

सोमबार कैलालीको टीकापुरमा भएको घट्नापछि केही अनलाइन र सामाजिक सञ्जालमा आफ्नो बारेमा ‘थारु समुदाय विरोधी’ समाचार आएको सम्बन्धमा वरिष्ठ नेताले देउवाले आज सो कुरा बताउनुभएको हो ।

नेता देउवाले आफ्नो निजी निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन आयोजना गरी समाजका हरेक क्षेत्रमा पिछडिएका र पिल्सिएका थारु समुदायको उत्थानका लागि आफूले धेरै काम गरेको बताउनुभयो ।

बधुवा मजदुरको रुपमा रहेका थारु समुदायको उत्थानको लागि आफ्नै प्रधानमन्त्रीत्वकालमा कमैया मुक्तिको घोषणा गरेको बताउँदै उहाँले भन्नुभयो, “म सदैव थारु आन्दोलनमा लागेको मान्छे हुँ, म कसरी थारु विरोधी हुन सक्छु ?”

उहाँले सुदूरपश्चिमबाट काठमाडाँै मात्र हैन तराईका जिल्लामा पनि एक ठाउँबाट अर्काे ठाउँमा जान भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थामा आफ्नै पहलमा सुदूरपश्चिममा २२ वटा पुलको निर्माण भएको र त्यसपछि राजधानीसँग सहज पहुँच भएको बताउनुभयो ।

“सुदूरपश्चिममा सबै (थारु र पहाडी) समुदाय वर्षाैदेखि शान्तिपूर्ण रुपमा मिलेर बसेका थिए” उहाँले भन्नुभयो, “बाहिरबाट केही व्यक्तिले घुसपैठ गरेर सुनियोजित रुपमा सम्प्रदाय भड्काउने काम गरे ।” राष्ट्रसेवक प्रहरी तथा नाबालकलाई घरेलु हतियारले प्रहार गरी आगो लगाएर मार्ने व्यक्ति जघन्य अपराधी भएको उहाँको भनाइ थियो ।

थारु समुदायलाई हरेक क्षेत्रमा विशेष आरक्षणको व्यवस्था गरेर सुदूरपश्चिममा हाल देखिएको समस्या समाधान गर्ने पक्षमा आफू रहेको बताउँदै उहाँले भन्नुभयो, “थारुका सामाजिक, सांस्कृतिक, राजनीतिक र परम्परागत चलिआएका हकअधिकार स्थापित गर्दै बाहुल्यता भएको ठाउँमा स्वायत्ततासमेत दिन सकिन्छ ।”

उहाँले सम्प्रदायिकता भड्काउने अभिव्यक्ति दिने जो केही व्यक्तिलाई पनि कारबाही गर्नुपर्ने बताउँदै घटनाका दोषीमाथि छानबिन गरी कडा कारबाहीको माग गर्नुभयो । नेता देउवाले जिल्ला टुक्य्राउँदा अनेक समस्या हुने भएकाले जिल्ला टुक्य्राउने पक्षमा भने आफू नरहेको स्पष्ट पार्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले संवैधानिक–राजनीतिक सहमति तथा संवाद समितिका सभापति डा बाबुराम भट्टराईप्रति लक्षित गर्दै ‘उहाँले विवाद हुने विषय बोल्न नहुने’ सुझाव दिनुभयो ।

सोमबार थरुहट प्रदेशको माग गर्दै टीकापुरमा निषेधाज्ञा तोडी अघि बढेको आन्दोलनमा आन्दोलनकारीको निर्मम कुटाइबाट सात प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।