आयुक्त गुरुङका दुई कृतिको लोकार्पण

काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङद्वारा लिखित दुई कृतिको आज लोकार्पण गरिएको छ ।

उपराष्ट्रपति परमानन्द झाले गुरुङबाट लिखित ‘ननिख्रिएका आँसु २०७१’ र ‘भोगाइ र गराई दोस्रो (संस्मरण) अङ्क २०७२’ को उपराष्ट्रपतिको भवन कान्तिपथमा लोकार्पण गर्नुभएको हो ।

यसअघि गुरुङबाट आफ्नै गुरुङ वंशावली–२०६०, मुगुको सेरोफेरो–२०६३, खोजखाज भित्रको खेस्रा–२०६३, भोगाइ र गराई पहिलो संस्करण–२०६९ प्रकाशित भइसकेका छन् ।

गुरुङ्की पत्नी टीकादेवी गुरुङले प्रकाशन गर्नुभएका उक्त दुई कृतिमध्ये ननिख्रएका आँसु आमा स्व ललिताकुमारी गुरुङको विषयमा तथा भोगाइ र गराइमा आफ्ना जीवनकालमा गरेका विभिन्न कामको सङ्ग्रहका रुपमा प्रकाशित छन् ।

कार्यवाहक प्रमुख आयुक्त गुरुङले प्रकाशित आफ्ना कृतिको बिक्रीबाट गोरखा जिल्लाको ताकुमाँझ गाविस–४ को विकासमा खर्च गर्ने बताउनुभएको छ । उहाँले हाल करिब रु तीन लाखको भिन्दाभिन्दै शीर्षकको अक्षय कोष स्थापना गरी समाज विकासमा आबद्धता जनाउँदै आउनुभएको छ ।

दुबै कृतिको लोकार्पण गर्दे उपराष्ट्रपति परमानन्द झाले प्रकाशित दुई कृति पठनीय र सङ्ग्रहणीय रहेको बताउनुभयो ।

प्रकाशित कृतिको टिप्पणी गर्दै साहित्यकार भेषराज रिजालले लेखक गुरुङकी स्व आमा ललिताकुमारीले उहाँको परिवारलाई सिकाउनु भएको ज्ञान अरुका लागि उपयोगी रहेको बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।