टौदहमा बिहानैदेखि दर्शनार्थीको भीड

काठमाडौँ, २ भदौ । श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी) का अवसरमा काठमाडौँ दक्षिण भेगस्थित टौदहमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

कर्कोटक नागराजा र नागरानीको बासस्थान मानिने टौदहमा प्रत्येक वर्ष नागपञ्चमीका दिन विशेष मेला लाग्ने गर्छ ।

स्थानीयवासी श्याम बस्नेतका अनुसार नागपञ्चमीका दिन टौदहमा स्नान गरी कर्कोटक नागराजाको दर्शन गरेमा सर्पआदि भयबाट मुक्त भइने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले यस दिन दर्शनार्थीको ठूलो भीड लाग्ने गरेको हो ।

किंवदन्तीअनुसार प्राचीनकालमा काठमाडौँ एक भयङ्कर कालीदहका रुपमा रहेको थियो । यहाँ मानव बस्ती बसाउन मञ्जुश्री आई दहमा कमलको फूल उत्पन्न गरी त्यही फूलमा बसी चोभार डाँडालाई सुदर्शन चक्रले काटी पानी पठाउँदा दहमा राज गरेका कर्कोटक नागराजा नागरानी पनि बाहिर जान लागे । त्यस अवस्थामा नेपालबाट बाहिर गएमा यहाँ अनावृष्टि एवम् सङ्कट आउने देखेपछि मञ्जुश्रीले चोभारदेखि दक्षिणतर्फ टौदह पोखरी बनाई नागराजका लागि बासस्थान बनाएको बताइन्छ ।

काठमाडौँबाट सात किमी दक्षिणभेगको सर्वाधिक उचाइमा रहेको चन्द्रगिरि पर्वत(चम्पादेवी) को स्पष्ट छाँयासमेत देखिने टौदह ५०० मिटर लम्बाइ र ४०० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।