बम हमलापछि थाई भाट र शेयरको मूल्य घट्यो

बम हमलापछि थाई भाट र शेयरको मूल्य घट्यो

बैंकक, १ भदौ । थाइल्यान्डको राजधानी बैंककमा सोमबार साँझ भएको बम विस्फोट र हत्याको घटनापछि थाइल्याण्डको पैसाको अवमूल्यन भएको बताइएको छ ।

त्यसैगरी अधिकारीहरुले यसका कारण यहाँ शेयरको मूल्यमा पनि कमी आएको समाचारमा जनाएका छन् ।

अधिकारीहरुका अनुसार थाइल्याण्डको पैसा भाटमा सन् २००९ पछिकै सबैभन्दा बढी गिरावट आएको छ । मङ्गलबार बिहान थाई भाटको मूल्य एक अमेरिकी डलरको तुलनामा ३५.५३६ भएको छ ।

THAILAND-BANGKOK-EXPLOSION
फोटो : (Xinhua/Li Mangmang)

साथै अधिकारीहरुले यससँगै शेयरको मूल्यमा पनि गिरावट आएको बताएका छन् र शेयरमा पनि एक वर्षयताकै सबैभन्दा कम मङ्गलबारको सुरवातीमै देखिएको जनाएका छन् ।

शेयरको मूल्यमा आज बिहानको सुरुवातमै गरिएको कारोबारमा २.८ प्रतिशतले कमी आएको थियो । यसलाई यस वर्षकै सबैभन्दा कम मूल्यका रुपमा लिइएको छ ।

सोमबार थाइल्याण्डको एक प्रसिद्ध पर्यटकीय स्थलमा भएको सो विस्फोटमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
यस विस्फोटमा परी चार चिनियाँ नागरिकको पनि मृत्यु भएको जनाइएको छ । यस घटनामा परी घाइते भएका व्यक्तिमा २० भन्दा बढी चिनियाँ नागरिक रहेका जनाइएको छ ।
स्थानीय समयानुसार सोमबार साँझ करिब ७ बजेतिर रातचप्रासनको एरावान धार्मिकस्थलनजिकै सो दुर्घटना भएको थियो ।
उक्त आक्रमण थाई माटोमा भएको अहिलेसम्मकै एक क्रुर घटना हो भनिएको छ । यसको कारण पत्ता लाग्न सकेको छैन ।
तर अधिकारीहरुले भने सो क्षेत्रमा गरिएको आक्रमणको मुख्य लक्ष्य विदेशी नागरिक रहेको बताएका छन् ।
उनीहरुले पर्यटकहरु जम्मा हुने ठाउमा नै यति शक्तिशाली बम हमला गरेकोले विदेशीलाई लक्ष्य गरी सो हमला भएको जनाएका हुन् ।
थाई प्रधानमन्त्रीले यस घटनाप्रति गहिरो दुःख व्यक्तगर्दै घाइतेहरुको राम्रो उपचारको लागि आदेश दिनुभएको जनाइएको छ । ÷एएफपी

तपाइँको प्रतिक्रिया ।