दश खेलाडीको मेहनत ‘अर्धशतक’

दश खेलाडीको मेहनत ‘अर्धशतक’

काठमाडौँ, २९  असार । सधैंँजसो नेपाली क्रिकेटमा खड्किएको ‘हिटर’ ब्याट्सम्यानको अभाव आज भएको आयरल्यान्डसँगको खेलमा पनि रह्यो ।

दुई खेलाडीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कसमेत जोड्न सकेनन् । अर्को चाखलाग्दो कुरो, ४९ रन जोड्दा पाँच विकेट गुमाएको नेपालले थप चार रन जोड्दा अर्को पाँच विकेट गुमाउँदै मात्र ५३ रनमा समेटियो । विडम्बना, नेपालका चार खेलाडीले खातासम्म खोल्न सकेनन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)अनुसार टी ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यो दोस्रो सानो स्कोर हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम स्कोर सन् २०१४ मा नेदरल्यान्ड्स र श्रीलङ्काबीच भएको खेलमा भएको थियो, जसमा नेदरल्यान्ड्स मात्र ३९ रनमा अलआउट भएको थियो ।

टी–ट्वन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा नेपाल एसोसिएट राष्ट्रमध्ये सबैभन्दा बलियो मानिएको आयोजक आयरल्यान्डसामु निरीह बन्यो ।

वर्षाका कारण केही ढिला गरी सुरु भएको खेलमा टस जितेर आयरल्यान्डले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो ओभरमा राम्रो प्रदर्शन गरे पनि त्यसपछि नेपालले कुनै पनि ओभरमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । पहिलो ओभरमा भने नेपालले १० रन जोडेको थियो ।

पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेसँगै २ अङ्क जोडेको थियो भने दोस्रो खेलमा वर्षाका कारण खेल रद्द भएपछि नेपाल र नामिबियाले अङ्क बाँडेका थिए । आज भएको खेलमा पराजित हुँदा नेपालले अङ्क तालिकामा अङ्क थप्न नसकी जारी प्रतियोगितामा तीन खेलमा तीन अङ्क मात्रैमा सीमीत भएको छ ।

अमेरिका, नामिविया र नेपाललाई पराजित गरेको आयरल्यान्ड ६ अङ्कसहित समूह ए को शीर्ष स्थानमा तथा तीन अङ्कसहित नेपाल दोस्रो स्थानमा छन् ।

लगातार दोस्रो पटक विश्वकप खेल्ने लक्ष्य पछयाइरहेको नेपालले छनोट प्रतियोगिताको ‘टर्निङ प्वाइन्ट’का रुपमा हेरिएको आजको खेलमा लज्जास्पद हार बेहोरेपछि नेपाली क्रिकेट खेलाडीको सामाजिक सञ्जालमार्फत विरोध भएको छ भने दुई पटक ट्वन्टी–२० विश्वकप छनोटको उपाधि जितिसकेको आयरल्यान्ड घरेलु मैदानमा उपाधिको ‘ह्याट्रिक’गर्ने अभियानमा छ ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’ले तयारी प्रभावित हुँदा नेपाल भारतको हिमाञ्चल प्रदेशमा तीन साताभन्दा बढी प्रशिक्षणपछि आयरल्यान्ड पुगेको थियो । युरोपको मौसममा लय समाउन सङ्घर्ष गरिरहेको नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । शनिबार नेपाल र नामिबियाबीचको दोस्रो खेल वर्षाले बिथोल्दा दुवै टोलीले एक÷एक अङ्क बाँडे ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिङ केही राम्रो भए पनि नेपालको ब्याटिङ पक्ष भने निकै कमजोर रहँदै आएको छ । क्यानका अनुसार नेपाली खेलाडीलाई टोली युरोपका पिचमा खेल्न अप्ठयारो हुनेगर्छ ।

नेपाल, जर्सी, नामिबिया, पपुवा न्युगिनी, अमेरिका र हङकङ भएको समूहमा आयरल्यान्ड सबैभन्दा बलियो टोली हो । प्रतियोगिताको दाबेदारीका रुपमा हेरिएको आयरल्यान्डले यसै वर्ष भएको एक दिवसीय विश्वकपमा जिम्बाब्बे र वेस्ट इन्डिजजस्ता अनुभवी टोलीलाई हराएको थियो भने अघिल्लो विश्वकपमा इङ्ल्यान्डलाई हराएर सनसनी मच्चाएको थियो । ट्वन्टी–२० छनोट क्रिकेटमा आयरल्यान्ड सन् २०१२ र २०१३ मा गरी दुई पटक विजेता हुँदै विश्व कपका लागि छानिएको थियो ।

यसअघि २०१४ मा बङ्गलादेशमा भएको विश्व कप क्रिकेट खेल्नुअघि नेपाल र आयरल्यान्डबीच भएको अभ्यास खेलमा समेत नेपाल ५ विकेटले पराजित भएको थियो ।

आगामी साउन १० गते आयरल्यान्डमा हुने प्रतियोगितामा शीर्ष हुने ६ टोलीले आगामी वर्ष भारतमा हुने विश्व कप क्रिकेट खेल्नेछन् । नेपालले बुधबार हङकङ, शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ । कुमार चौलागार्इं /रासस

तपाइँको प्रतिक्रिया ।