Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/lightfoot-1024x765.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

टेलिफोन नेटवर्कमा चर्को समस्या

काठमाडौँ, २८ असार । विनाशकारी भूकम्पपछि राजधानीमा घरधनीको मागबमोजिम नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका ७२ टेलिफोन टावर झिकिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।
lightfoot
भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिएपछि त्यसबाट थप क्षति हुने त्रासले सयौँ घरधनीले त्यस्ता टावर हटाउन सम्बन्धित टेलिफोन कम्पनीमा निवेदन दिएका छन् ।

घरधनीको मागपछि जोखिममा रहेका घरबाट काठमाडाँै उपत्यकामा नेपाल टेलिकमका ३७, एनसेलका २८ र युटिएलका सात टावर झिकिएको टेलिफोनको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिनुभयो ।

प्राधिकरणले घरधनीको माग बमोजिम जनधनको क्षति हुन नदिन इन्जिनियरमार्फत जाँच गराई जोखिमयुक्त घरमा टावर राख्ने÷नराख्ने बारेमा अध्ययन भइरहेको अध्यक्ष झाले बताउनुभयो । कतिपय टावर झिकिएका स्थानमा मोबाइल ट्राफिक जामले मोबाइल सेवाको स्तरीयतामा कमी आएको जानकारी दिँदै उहाँले त्यसको समाधानका लागि आवश्यक काम भइरहेको बताउनुभयो ।

झिकिएका टावरमध्ये सबैभन्दा बढी कलङ्की, गोङ्गबु, वसुन्धारालगायतका क्षेत्रका छन् । टावर झिकिएपछि राजधानीका मोबाइलका ग्राहकले ठूलो समस्या व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

कलङ्कीका धर्मराज पाण्डे भूकम्पपछि घरभित्र मोबाइल सुनिन छाडेको बताउनुहुन्छ । “अचेल फोन आउनेबित्तिकै घरबाहिर खुला स्थानमा दौड्नुपर्छ” – पाण्डेले गुनासो गर्नुभयो ।

उपत्यकाका तीन जिल्लामा मोबाइल फोनको सुविधाका लागि हाल नेपाल टेलिकमका ४४३, एनसेलका ३४७ र युटिएलका ४५ टावर जडान गरिएका छन् । यसमध्ये ९५ प्रतिशतभन्दा बढी टावर घरको छतमाथि नै छन् ।

त्यस्ता टावर औसतमा आठ मिटर अग्ला र दुई सयदेखि एक टनसम्म वजनका छन् । टेलिफोन कम्पनीले मोबाइलकर्ताको घनत्वका आधारमा उपत्यकामा करिब पाँच सय मिटरको दूरीमा आ–आफ्ना टावर राखेका छन् । नेपाल टेलिकमले टावर राखेबापत घरधनीलाई मासिक रु दुईदेखि २० हजारसम्म भाडा तिर्ने गर्छ ।

हाल उपत्यकामा नेपाल टेलिकमका करिब ४० लाख, एनसेलका १७ लाख ६० हजार र युटिएलका दुई लाख मोबाइल प्रयोगकर्ता छन् । राजधानीको शान्तिनगर बस्ने निशा पाण्डेयको गुनासो पनि धर्मराजको जस्तै छ । उहाँ भन्नुहुन्छ – “भूकम्पपछि त घरभित्र मोबाइलमा कुरा गरेकै सुनिँदैन ।”

भूकम्पपछि नेपाल टेलिकममा मात्र दुई सयभन्दा बढी घरधनीले आफ्नो घरमाथिका टावर हटाउन निवेदन दिएको टेलिकमको मोबाइल सेवा निर्देशनालयका नायब महाप्रबन्धक प्रेमप्रसाद सिलवालले जानकारी दिनुभयो । भूकम्पमा टावरले घरमा क्षति नभए पनि संरचनागत क्षति भएका घरधनीले आत्तिएर त्यस्तो निवेदन दिएको उहाँले बताउनुभयो । अझ कतिपय धरधनीले आफ्नो मागबमोजिम नझिकिएका टावरमा विद्युत् सेवासमेत अवरुद्ध गरिदिँदा नेटवर्कमा थप समस्या परेको छ ।

हाल टेलिफोन कम्पनीहरुले आत्तिएर निवेदन दिने घरधनीसँग टावर हटाउने विषयमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । टावर झिकिएका स्थानमा टेलिकमले मोबाइल सेवाको गुणस्तर सुधार्न युद्धस्तरमा काम गरिरहेको बताउँदै उहाँले सात घरधनीसँग नयाँ सम्झौता भइसकेको जानकारी दिनुभयो ।

एनसेलका २८ टावर झिकिएपछि मोबाइल नेटवर्कमा देखिएको समस्या समाधानका लागि के प्रयास भइरहेका छन् भन्ने सम्बन्धमा राससले पटक पटक प्रयास गर्दा पनि कम्पनीले कुनै जानकारी दिन मानेन ।

एउटै टावरमा चार कम्पनीका मोबाइलका एन्टेना राख्न सकिन्छ । तर कानुनी प्रावधान नहुँदा हाल सबै कम्पनीले आ–आफ्ना टावर राखेका छन् । टावरलाई आवश्यक बिजुली÷ब्याट्रीको खपत जोगाउन, त्यसबाट निस्कने प्रदूषण (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) नियन्त्रण गर्न र सहरको कुरुप हटाउन प्राधिकरणले भूकम्पअघि नै निर्देशिका बनाए पनि हालसम्म पारित हुन सकेको छैन ।

दूरसञ्चार क्षेत्रमा पूर्वाधारको सहप्रयोग तथा मापदण्ड निर्धारण गर्न २०६८ सालमा सूचना तथा सञ्चार मन्त्रीको अध्यक्षतामा विभिन्न आठ मन्त्रालयका सचिव रहने ‘पूर्वाधार प्रवद्र्धन समिति’ बनेको थियो । समितिको एउटा पनि बैठक नबस्दा उक्त निर्देशिका पारित हुन नसकेको अध्यक्ष झाको गुनासो छ ।

निर्देशिकामा टावरमात्रै जडान गरी भाडामा दिन मिल्ने छुट्टै स्वतन्त्र कम्पनीको व्यवस्था छ । “निर्देशिका पारित भए टेलिफोन कम्पनीले टावर जडान गर्ने ध्यान गुणस्तर सुधारमा केन्द्रित गर्न सक्छन,” अध्यक्ष झाले भन्नुभयो ।

हाल टावरसँगै शक्ति सञ्चयलाई राखिने सयौँ केजी वजनका ब्याट्रीलाई प्राधिकरणले भुइँतलामा राख्न सुझाव दिएको छ । हाल देखिएको टावर समस्या समाधान गर्न प्राधिकरणले भविष्यमा धेरै टावरको काम एउटैले गर्ने मोनोपोल टावर (सानो क्षेत्रफलमा अग्लो टावर) निर्माण गर्ने योजना अघि सारेको छ । रासस

तपाइँको प्रतिक्रिया ।