‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा

काठमाडौँ । भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर पत्रकार गणेश पाण्डेले ‘भाग्यले बाँचेकाहरु (मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक) नामक नयाँ वृत्तचित्र तयार पारेका छन् ।

पचपन्न मिनेट लामो वृत्तचित्रमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि वैशाख १२ गतेको भूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमूलक पात्रका कथालाई समेटिएको छ ।

पत्रकार पाण्डेले निर्देशन गरेको वृत्तचित्रको निर्माण शारदा गैरे, छायाङ्कन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अङ्ग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् ।

साइन मिडिया प्रालिद्वारा निर्मित वृत्तचित्रमा जुगल डङ्गोलले सङ्गीत भरेका छन् ।

वृत्तचित्रमा बैशाख १२ को भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका सात जना नेपालीको कथा छ ।

काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हीरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ ।

यसैगरी, पाँचतले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा वृत्तचित्रमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको विचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि वृत्तचित्रमा बेजोड रुपमा उतारिएको छ ।

यसैगरी, धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, काठमाडौँको नयाँबसपार्कबाट ११२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै साततले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल, काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको इनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ वर्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाएअनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई वृत्तचित्रमा समेटिएको छ ।

यसैगरी, भूकम्पमा परेकालाई जीवितै उद्दार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।

‘बैशाख १२ को भूकम्पले नेपालीको मन मस्तिष्कमा कहिल्यै निको नहुने घाउ लगाइदिएको छ, त्यही घाउलाई हामीले पर्दामा उतारेका छौँ,’ निर्देशक पाण्डे भन्नुहुन्छ, ‘डेढ महिनाको मेहनतपछि निर्माण गरिएको यो वृत्तचित्र भविष्यका लागि महत्वपूर्ण दस्तावेज हुनेछ । वृत्तचित्रले बाँच्ने र बचाउनेहरुको कथा मात्र होइन् नवनेपाल निर्माणका लागि सन्देश समेत दिन्छ ।’

छिट्टै स्वदेश तथा विदेशमा यो वृत्तचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको निर्माण टिमले जनाएको छ । वृत्तचित्रको च्यारिटी शोबाट सङ्कलित रकम अङ्गभङ्ग अवस्थामा रहेका वृत्तचित्रकै पात्रहरुको उपचार र उनको जीवनयापनका लागि सहयोग गरिने लक्ष्य रहेको निर्देशक पाण्डेले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।