तीन साहित्यिक कृति सार्वजनिक

काठमाडौँ, २६ असार । दुईसय दुईऔँ भानुजयन्तीका सन्दर्भमा हिजो  तीन साहित्यिक कृति सार्वजनिक गरिएको छ ।

सगरमाथा वाङ्मय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा कवि तीर्थराज अधिकारीको कवितासङ्ग्रह ‘टाँक’, दुर्गाप्रसाद काफ्लेको नियात्रा ‘अमेरिका यात्रा’ र प्रतिष्ठानको साहित्यिक त्रैमासिक पत्रिकाको ‘सगरमाथा वाङ्मय–कविता विशेषाङ्क’ सार्वजनिक गरिएको हो ।

पूर्वमन्त्री होमनाथ दाहाल र कवयित्रीद्वय तोया गुरुङ र डा बेञ्जु शर्माले संयुक्त रुपमा उक्त कृति विमोचन गर्दै भूकम्पका कारण त्रसितलाई पीडा बिर्साउन साहित्यिक कृतिले महत्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई, प्रा गोपीकृष्ण शर्मा, प्रा गणेश घिमिरे, कलानिधि दाहाल, डा नारायण चालिसे, राममणि पोखरेल, सहप्राध्यापक भागवत ढकाललगायतले समाजलाई बाटो देखाउन साहित्यले मद्दत गरेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले भाषा, कला र साहित्यको उत्थानका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउँदै प्रतिष्ठानमा आबद्ध हुन सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा रामनारायण देव, दिनेशहरि अधिकारी, दामोदर पुडासैनी किशोर, तुलसीहरि कोइराला गीता पुडासैनी, सुमित्रा पौडेल, समिता कोइराला, शङ्कर पौडेल, राधिका आचार्यलगायतले समसामयिक विषयवस्तुमा लेखिएका आफ्ना कविता वाचन गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।